विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशले पत्रकारिता क्षेत्रमार्फत खेलकुदको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै संचारपाटी डटकमका प्रबन्ध निर्देशक सुमन सुस्केरा र फोटो पत्रकार गुरु ढकाल सहितका पत्रकारलाई नगद सहित सम्मान गरेको छ।
कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय तथा प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा आयोजित विशेष कार्यक्रममा सुस्केरा र लाई नगद नाै हजार ९९९ पुरस्कारसहित सम्मान–पत्र प्रदान गरिएको हो। त्यस्तै पत्रकारहरू अभय राई, विकल पौडेल, अनिल श्रेष्ठ, रमा दाहाललाई सम्मान तथा पुरस्कृत गरिएको हो।
पत्रकारले प्रदेशका खेलकुद गतिविधिहरूलाई निरन्तर समाचार सम्प्रेषण गर्दै आम जनसमुदायमा सकारात्मक सन्देश फैलाउने कार्यमा भूमिका निर्वाह गर्दै आएकोमा सम्मान गरिएको प्रदेश खेलकुद विकास बोर्डका अध्यक्ष तथा सामाजिक विकास मन्त्री पाँचकर्ण राईले बताए । उनले पत्रकारितामार्फत खेल क्षेत्रको विकासमा सहयोग पुर्याउने पत्रकारहरूको भूमिकाको प्रशंसा गरे। मन्त्री राईले भने,`सङ्घीय सरकारले प्रदेशलाई आवश्यक बजेट र कार्यक्रम नै नदिँदा समस्या भएको छ। यस्तो परिस्थितिमा पनि पत्रकारहरूले प्रदेशको खेल गतिविधि उजागर गरिरहेका छन्, जुन प्रशंसायोग्य हो।´
खेलकुद मन्त्री तेजुलाल चौधरी प्रमुख अतिथिका रूपमा सहभागी थिए भने प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिव कृष्ण बस्नेत (परशुराम)ले सम्मान पत्र हस्तान्तरण गरेका थिए। सो अवसरमा बोर्डले प्रदेशका खेलाडी, प्रशिक्षक, खेलकर्मी तथा पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।