विराटनगर । जीवन विज्ञान पथरी शनिश्चरे नगर परिषद् र पथरी उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा ११औँ अन्तर्राष्ट्रिय योग दिवस पथरीमा भव्यतापूर्वक सम्पन्न भएको छ।
विगत एक वर्षदेखि नियमित योग अभ्यास गर्दै आइरहेको जीवन विज्ञान पथरीले नगर क्षेत्रका विभिन्न ६ स्थानमा फरक-फरक कार्यक्रम सञ्चालन गरेको हो। सिद्धेश्वर मन्दिर परिसर, सोमबारे योग प्रयोगशाला लगायतका स्थानमा दैनिक रूपमा सञ्चालन हुने योग अभ्यासलाई विशेष दिवसका रूपमा मनाइएको आयोजकले बताएकाे छ।
कार्यक्रमको अवसरमा सिद्धेश्वर मन्दिर परिसरमा सरसफाइ तथा औषधीय गुणयुक्त ११ प्रजातिका वृक्षारोपण गरिएको छ। उद्घाटन गर्दै पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेतले योगले मानव सभ्यता, चेतना र सकारात्मक जीवनशैली निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा प्रशिक्षक राधिका गुरागाईंले योगलाई मानिस र प्रकृतिबीचको सेतु रहेको बताउँदै जुन २१ विश्वव्यापी योगका लागि समर्पित विशेष दिन भएकाले उत्सवपूर्वक मनाइएको बताईन् ।
योग साधक युवराज बास्कोटाले योगको शारीरिक, मानसिक र आत्मिक एकताको पक्षमा जोड दिँदै आत्मबोध र मोक्षप्राप्तिको सहज उपायका रूपमा योगको चर्चा गरे। साथै, संयुक्त राष्ट्रसंघद्वारा मान्यता प्राप्त योगको वैश्विक प्रभाव र अभ्यासबारे समेत जानकारी दिइएकाे थियाे।
प्रशिक्षक मदन गुरागाईंले योग अभ्यासले तनाव, चिन्ता, डिप्रेसन नियन्त्रणमा ल्याउनुका साथै आत्मविश्वास बढाउने र परिस्कृत जीवनशैली अपनाउन प्रेरित गर्ने बताए। राधा ढकालले नियमित अभ्यासले समुदायमा सकारात्मक परिवर्तन ल्याएको उल्लेख गरिन्।
आँधीहुरी जस्ता प्रतिकूल परिस्थितिमा पनि निरन्तर अभ्यास जारी राख्दै आएका प्रशिक्षक डम्बरुबल्वभ गुरागाईं, मदन गुरागाईं, राधा गुरागाईं, जानुका दाहाल आचार्य, गोमा दाहाल निरौला, छविलाल घिमिरे, रवीन्द्र अधिकारी, सन्तोष बस्नेत, शारदा बस्नेतलगायतले पालैपालो सहजीकरणमार्फत योग अभ्यासलाई सञ्चालन गर्दै आएका छन्।
स्थानीय स्तरमा बढ्दो सहभागिता र सकारात्मक प्रतिक्रियाबाट प्रेरित आयोजकहरूले आगामी दिनमा अझ व्यापक रूपमा योग अभ्यास विस्तार गर्ने तयारी गरेका छन्।