विराटनगर । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले परीक्षा केन्द्र अन्यत्र सारेको भन्दै सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पस सिराहाका विद्यार्थीहरू आन्दोलित भएका छन्। यही जेठ ५ गतेदेखि सञ्चालन हुन गइरहेको स्नातक तह अन्तर्गत विभिन्न संकायका परीक्षाहरूका लागि सिराहा क्याम्पसको परीक्षा केन्द्र विभिन्न चलखेल तथा षड्यन्त्रका कारण झन्डै ५० किलोमिटर टाढा सारिएको भन्दै विद्यार्थीहरू आन्दोलित भएका हुन्।

IMG-20250517-WA0003
स्वतन्त्र विद्यार्थी युनियन सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पस सिराहाले एक विज्ञप्ति जारी गर्दै विद्यार्थीलाई दुःख दिने तथा विद्यार्थीको भविष्यमाथि नै खेलबाड गर्ने गरी परीक्षा केन्द्र टाढा लगिएकोमा आपत्ति जनाएको छ।
परीक्षार्थीहरूलाई परीक्षामा सहभागी हुन असहजता हुने भएको हुँदा विद्यार्थीहरूलाई असहज परिस्थिति सृजना हुने गरी त्रिविद्वारा गरिएको यस विभेदपूर्ण कार्यप्रति स्वतन्त्र विद्यार्थी युनियन सिराहा घोर आपत्ति जनाउँदछ, विज्ञप्तिमा भनिएको छ।
स्वतन्त्र विद्यार्थी युनियनले त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा रहेको सिराहा बहुमुखी क्याम्पसमा सम्बन्धनप्राप्त क्याम्पसहरूको परीक्षा केन्द्र हुनु पर्नेमा क्याम्पसको गरिमामा आँच आउने गरी सामुदायिक क्याम्पसमा परीक्षा केन्द्र कायम गर्नु दुखद भएको जनाएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन सिराहा क्याम्पसका सभापति पृथ्वी कुमारी यादवले क्याम्पसको परीक्षा केन्द्र यसै क्याम्पसमा तोक्ने गरी भएको सहमतिलाई समेत उल्लङ्घन गर्दै बदनियत पूर्वक परीक्षा केन्द्र जेएस मुरारका  क्याम्पसमा तोकिएकाले आन्दोलन गर्नुपरेको बताए ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रकले आर्थिक प्रलोभनमा परी क्याम्पस प्रमुखको मिलेमतोमा परिवर्तन गरिएको परीक्षा केन्द्र संशोधन गर्न हिजो जेष्ठ २ गते सम्मको समय दिएका छौँ, आज बिहानसम्म पनि कुनै पनि काम भएको छैन, उनले भने,  आजदेखि अनिश्चित कालिन क्याम्पसमा तालाबन्दी गर्ने तथा क्याम्पस प्रमुखलाई क्याम्पसमा प्रवेश निषेध गर्ने गरी आन्दोलन कार्यक्रम घोषणा गरेका छौँ ।
यसबाट उत्पन्न परिस्थितिको सम्पूर्ण जिम्मा परीक्षा नियन्त्रक, क्याम्पस प्रमुख तथा क्याम्पस प्रशासनले नै लिनुपर्ने विद्यार्थीको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक, यस क्याम्पसका क्याम्पस प्रमुख र त्रि.वि. का अन्य नेतृत्व वर्गको नैतिकतामा नै विद्यार्थीहरूले प्रश्न उठाएका छन्।
यस अघि विद्यार्थी क्याम्पस तथा विद्यार्थी सङ्गठनहरूसँग भएको छलफलपछि परीक्षा केन्द्र सिराहा क्याम्पसमा नै राख्ने गरी भएको सहमतिको समेत उल्लङ्घन भएको विद्यार्थीहरूको ठहर छ।

IMG-20250517-WA0005

यसैबिच विद्यार्थीहरूले शुक्रवार साँझ सिराहामा केही बेर चक्काजाम गरेका छन्। सडक अवरुद्ध गर्दै विद्यार्थीहरूले क्याम्पसको परीक्षा केन्द्र सिराहामा नै राख्नुपर्ने माग गर्दै सडक अवरुद्ध गरेका थिए।

IMG-20250516-WA0012