विराटनगर । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लागेर आगलागि हुँदा घाइते भएका दुई जनालाई थप उपचारका लागि काठमाण्डौँ पठाइएको छ । 

 हेलिकप्टर मार्फत उनीहरुलाई काठमाण्डौँ ह्याम्स अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रवी रावलले जानकारी दिए  । 

ताप्लेजुङको फुङलिङबाट थप उपचारका लागि घाइते आमा ललितपुर महानगरपालिका १० बस्ने वर्ष ४५ की सबिना आचार्य र उहाँका छोरा १० वर्षीय भबिमय आचार्यलाई काठमाडौँ पठाइएको प्रहरी प्रमुख रावलले जानकरी दिए । 

घाइेत भएका उनीहरुको स्थानिय अस्पतालमा प्रारम्भिकर उपचार पछि काठमाण्डौँ पठाएको उनले बताए । उनका अनुसार घाइेत आमाको घाँटी सहित शरीरका विभिन्न भाग जलेको छ  भने छोराको अवस्था समान्य नै रहेको छ । 

सोमबार बिहान मन्दिर दर्शनका लागि  जाँदै गरेको मे १ च ३०११ नम्बरको जिप गाडी फुङलिङ नगरपालिका–१० को सेवारो चोकमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो । गाडीमा आगलागी हुँदा चार जनाको घटना स्थलमा मृत्यु भएको थियो । 

मृत्यु हुनेमा ललितपुर महानगरपालिका १० बस्ने सबिना आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका १५ बस्ने ७० वर्षीय विनोद पौडेल, विनोद पौडेलकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र चालक ताप्लेजुङको फुङलिङ नगरपालिका १० बस्ने ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन् ।

 घटनाको  विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख रावलले बताए ।