विराटनगर । आठौँ संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिको लागि मच्छिन्द्र फुटबल क्लब र  घरेलु टोली साङ्ग्रिला मोरङ एफए बिच प्रतिस्पर्धा हुनेछ । 
विराटनगर सहिद मैदानमा बिहीबार राती सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली सिक्किम ड्रागन भारतलाई १–० गोलले पराजित गर्दै मच्छिन्द्रले घरेलु टिम साङ्ग्रिलासँगको उपाधि भिडन्त पक्का गरेको हो । 
अन्तिम सेमिफाइनल खेलमा मच्छिन्द्रका आयुष घलानले ९४ औँ मिनेटमा निर्णायक गोल गरे । वैकल्पिक खेलाडी मनिष डाँगीले निकालेको क्रस पासलाई आयुषले आकर्षक गोल गर्दै टिमलाई फाइनलमा पु¥याए । हिसब थपलियाको ठाउँमा मनिष दोस्रो हाफपछि मैदान प्रवेश गरेका थिए । निर्णायक गोल गर्ने आयुष प्लेयर अफ द म्याच पनि घोषित भए । उनले नगद ११ हजार पाए ।
हारपछि सिक्किमका प्रशिक्षक कुन्जन भुटियाले खेलाडीहरूको फिनिसिङ पक्ष कमजोर भएको कारणले सेमिफाइनलमा हार भएको बताए । 
जितपछि पोस्ट म्याच कन्फ्रेन्समा मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले पहिलो हाफमा थुप्रै अवसर गुमाएको कारणले दोस्रो हाफमा रणनीति परिवर्तन गरेर विपक्षीलाई दबाबमा राख्न सफल भएको बताए ।  

गोल्ड कपको विजेताले ११ लाख र उपबिजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल पाउनेछन् ।