विराटनगर । सडनडेथमा जित निकाल्दै घरेलु टिम साङ्ग्रिला मोरङ एफए आठौँ संस्करणको विराट गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । 
विराटनगरस्थित सहिद रङ्गशालामा बुधवार राती सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफललाई सडनडेथमा ४–३ गोलले पन्छाउँदै साङ्ग्रिला फाइनलमा पुगेको हो । 
निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो सडेनडेथबाट भएको हो । रोमाञ्चक तथा प्रतिस्पर्धात्मक ट्राईबेकरमा दुवै टोलीले ३–३ गोल गरेका थिए । त्यसपछि खेल सडनडेथमा पुग्यो ।
सडनडेथमा आशिष चापागाईँ, अविशेक लिम्बु, उमेश कार्की र किरण राईले गोल गरे । साङ्ग्रिलाका विदेशी खेलाडी एनकेट र सागर तिरुवाको प्रहारलाई  एपीएफका गोलकिपर एन्जल श्रेष्ठ उत्कृष्ट बचाए ।
IMG_6869
एपीएफको तर्फबाट दिपेश धिमाल,कुलदिप कार्कीको प्रहार साङ्ग्रिलाका गोलकिपर विशाल सुनारले सानदार तरिकाले बचाउ गरिदिए । एपीएफको तर्फबाट अनिस महर्जन, सुमन श्रेष्ठ र विश्वास उदासले मात्र गोल गरेका थिए । 
साङ्ग्रिलाले उपाधिको लागि बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा मच्छिन्द्र र पाहुना टोली सिक्किम ड्रागन भारतबिच हुने विजेता टिमसँग खेल्नेछ । 

एपीएफले इटहरी गोल्ड कप च्याम्पियन चर्च ब्वाईज  युनाइटेड काठमाण्डौलाई २–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको थियो । घरेलु टिम साङ्ग्रिलाले भुटानको आरटिसिएफसी ३–२ गोलले हराउँदै सेमिफाइनलको स्थान पक्का गरेको थियो ।