सुनसरी । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र इतर पक्षका नेता कृष्णप्रसाद सिटौलाबीच भेटवार्ता भएको छ ।

दुई दिन अघि मात्र विराटनगरमा इतर पक्षले प्रदेश स्तरीय भेला राखेको थियो । भेलामा कृष्ण सिटौला सहित शेखर पक्ष र देउवा पक्ष दुवै पक्षका नेताहरु सहभागी भएका थिए । 

आज झापा धुलाबारीमा दुई नेताहरूबीच भेट भएको काँग्रेस झापाका सचिव कृष्ण हुमागाईँले बताए। उनका अनुसार दुई नेताहरूबीच वान टु वान वार्ता भएको थियो ।

आन्तरिक समस्या समाधान कित्ताकाटबाट नभई वार्ता र संवादबाट पार्टीभित्र बलियो एकता कायम गर्न सकिनेमा नेताहरु बीच छलफल भएको उनले बताए ।

नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा याम भण्डारीको निधनप्रति समवेदना प्रकट गर्न दुई नेता आज बिहान झापा पुगेका थिए । दुवै नेताहरु झापा निवासी हुन । 

पार्टीभित्र आन्तरिक विवाद चर्किएर विभाजनको डिलमा पुगेको बेलामा दुई नेताबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा आएपछि कांग्रेसमा विवाद चर्किएको छ ।