सुनसरी । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३।८४ मा कर तथा शुल्यमा छुुट दिने घोषणा गरेको छ । कोशी प्रदेश सभामा आ.ब. २०८३र८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले कर छुट तथा शुल्कमा सहुलियत दिने घोषणा गरेका हुन ।
मन्त्री लिङ्थेपले घोषणा गरे अनुसार पाँच वर्षसम्म सवारी कर नतिरेका करदाताले २०८४ जेठ मसान्तभित्र बक्यौता बुझाएमा अतिरिक्त दस्तुर तथा जरिवाना छुट दिइने व्यवस्था गरिएको छ । १४ सिटभन्दा बढी क्षमताका सार्वजनिक सवारीसाधनले यात्रुलाई भाडा छुट उपलब्ध गराएमा त्यस्ता सवारीलाई ६० प्रतिशत कर छुट प्रदान गरिने मन्त्री लिङ्थेपले जानकारी दिए ।
कोशी भ्रमण वर्षलाई लक्षित गर्दै भारतीय पर्यटकलाई प्रत्यक्ष सेवा प्रदान गर्ने सवारीसाधनलाई पूर्ण कर छुट दिने व्यवस्था पनि बजेटमा समावेश गरिएको छ ।
बजेटअनुसार, अन्य प्रदेशबाट हिमाली तथा पहाडी क्षेत्रमा बसोबास गर्ने तथा कृषि व्यवसाय सञ्चालन गर्ने व्यक्तिलाई जग्गा रजिस्ट्रेसन शुल्कमा पूर्ण छुट प्रदान गरिनेछ । प्रदेश लगानी प्राधिकरणसँग लगानी सम्मेलनमार्फत सम्झौता भएका परियोजनाहरूले लिखत प्रमाणीकरण गर्दा लाग्ने शुल्कमा ७५ प्रतिशत छुट पाउनेछन् ।
कृषि क्षेत्रको व्यवसायीकरणलाई प्रोत्साहन गर्न फलफूल उद्योग स्थापना तथा सामूहिक खेतीका लागि जग्गा खरिद गर्दा लाग्ने करमा ५० प्रतिशत छुट दिने घोषणा गरिएको छ । साथै, १०० देखि ३०० जनासम्मलाई रोजगारी दिने उद्योगलाई ४५ प्रतिशत र ३०० भन्दा बढीलाई रोजगारी दिने उद्योगलाई ५० प्रतिशत कर छुट उपलब्ध गराइने उल्लेख छ ।
होटल तथा रेस्टुरेन्ट व्यवसायलाई प्रोत्साहन गर्न इजाजतपत्र प्राप्तिमा समेत सहुलियत दिने व्यवस्था गरिएको छ । सामाजिक सुरक्षाअन्तर्गत क्यान्सरलगायतका दीर्घरोगी, हिंसापीडित तथा ज्येष्ठ नागरिकलाई प्रदेश प्रयोगशालामा गरिने स्वास्थ्य परीक्षण सेवामा ९० प्रतिशत शुल्क छुट प्रदान गरिने सरकारले जनाएको छ ।
लगानी आकर्षण, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन तथा सामाजिक संरक्षणलाई बलियो बनाउन कर तथा शुल्क छुटका कार्यक्रम अघि सारेको मन्त्री लिङ्थेपले बताए ।
















