सुनसरी । विपतमा राहत र उद्धारको काम गर्ने सशस्त्र प्रहरी बललाई रोट्याक्ट क्लब अफ इटहरीले विपत व्यवस्थापनका सामग्री हस्तान्तरण गरेको छ । रोट्याक्ट क्लबले पकली स्थित सशस्त्र प्रहरी बल नेपाल नं. १ वराहा वाहिनी मुख्यालयलाई विपद्को समयमा उद्धार कार्यमा प्रयोग हुने विभिन्न सामग्रीहरु हस्तान्तरण गरेको हो ।
रोटरी डिस्ट्रिक्ट ३२९२ को सहयोगमा आयोजित कार्यक्रममा करिब २ लाख ५० हजार मूल्य बराबरका राहत तथा उद्धार सामग्री हस्तान्तरण गरिएको हो।
हस्तान्तरण गरिएका सामग्रीमा फायर बल, पोर्टेबल मेगाफोन, ड्राइ ब्याग, स्विमिङ बुट, रेस्क्यु थ्रो रोप, लाइफ ब्वाय रिङ, लाइफ ज्याकेट, सेफ्टी हेल्मेट, स्ट्रेचर, वाकी–टकी, फायर एक्स्टिङ्गुइशर, रेनकोट तथा फर्स्ट एड किटलगायत रहेका छन्।
कार्यक्रममा प्रमुख अतिथि सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणि पौडेलले क्लबले गरेको उदाहरणीय कार्य गरेको भन्दै विपद् व्यवस्थापन तथा मानवीय सेवामा यसले महत्वपूर्ण योगदान पुर्याउने बताए।
रोट्याक्ट क्लब अफ इटहरीका अध्यक्ष शीतल धितालले हस्तान्तरण गरिएका सामग्रीले विपद् उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सशस्त्र प्रहरीसँग सहकार्य जारी रहने बताए।
कार्यक्रममा रोटरी तथा रोट्याक्टका पदाधिकारीसहित सशस्त्र प्रहरी बलका अधिकारीहरूको सहभागिता रहेको क्लबकी सचिव जेनिशा सुमनले जानकारी दिइन्।

















