सुनसरी । बालकृष्ण विष्टले उम्मेदवारी फिर्ता लिए पछि नेपाली काँग्रेस इटहरी उपमहानगर समितिको सभापतिमा विकास के.सी. सर्वसम्मत चयन भएका छन् ।
सभापतिका लागि के.सी. र विष्टको उम्मेदवारी परेको थियो । सहमति गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न बुधबार देखी नै प्रयास भएको थियो ।
सहमतिका लागि निवर्तमान नगर सभापति हेमकर्ण पौडेल, केन्द्रिय सदस्य राजिव ढुंगाना लगायतका नेताहरु लागेका थिए ।
सभापतिका आकांक्षी मध्येका दुई कोविदजंग कार्कीले सहमतिका लागि बुधबार नै पछि हटेका थिए भने बिक्रम घिमिरेले उपसभापतिमा उम्मेद्वारी दिएका थिए । पछि त्यो पनि फिर्ता लिएका छन् ।
सहमति, सहकार्य र एकताको अधिवेशन बनाउने भनेर अग्रज नेताहरुले दबाब दिएका थिए । सोही अनुसार आज(विहिबार) सहमति गरेसँगै के.सी सभापतिमा सर्वसम्मत चयन भएका हुन ।
सभापतिमा सर्वसम्मत गरेपछि अन्य पदमापनि सहमित गर्ने प्रयास भईरहेको बताइएको छ । सभापतिमा निर्वाचित भएका के.सी यस अघि दुई पटक अधिवेशनमा आकांक्षी हुँदै पराजित भएका थिए ।
१३औँ र १४औँ महाधिवेशनमा सभापति हेमकर्ण पौडेलसँग पराजित भएका थिए । तेस्रो पटक सभापतिको उम्मेदवार बनेका के.सीलाई उनै पौडेलले सर्वसम्मत नगर सभापति बनाएका छन् ।
नेविसंघका पूर्व केन्द्रीय उपसभापतिसमेत रहेका केसी हाल जनता बहुमुखी क्याम्पसको अध्यक्ष छन् ।
अन्य पदाधिकारीहरुमा पनि सहमित गर्ने प्रयास जारी छ भने सदस्यहरु बुधबार नै सर्वसम्मत भएका छन् ।

















