विराटनगर। २०४७ साल असोज ५ गते ओखलढुङ्गाको जिल्ला शिक्षा कार्यालयका निमित्त हाकिम (सुब्बा) नन्दराज जोशीले अगाडि उभिएका १८ वर्षीय एक होचो र साना ज्यानका ठिटोलाई नियुक्ति पत्र दिँदै गर्दा ‘यो दुधे बालक आएछ’ भनेका थिए। 
तिनै ’दुधे बालक’ थिए–उद्धव प्रसाद रिजाल। लोकसेवा आयोगको मुखिया पदमा १ नम्बरमा नाम निकालेर जब उनी बुवासँग ओखलढुङ्गा नियुक्ति बुझ्न पुगेका थिए, तब कसैले सोचेको थिएन, यो बालकले आगामी ३६ वर्ष ६ महिनासम्म नेपालको निजामती सेवाका विभिन्न आयामहरूलाई नजिकबाट हाँक्नेछ।
२०२८ साल माघ ११ गते खोटाङको नेर्पा गाविस (मोछा) मा जन्मिएका रिजालले २०४५÷४६ सालको जनआन्दोलनसँगै एसएलसी पास गरे। घर छाडेर सदरमुकाम आई ट्युसन पढाउन थालेका उनलाई साथीहरूले लोकसेवाको फर्म भरिदिएका थिए। ६० नम्बरको गणितमा सोधिएको परीक्षामा २५ मिनेटमै उत्तर पुस्तिका बुझाएर बाहिरिएपछि केन्द्रमा प्रश्न पत्र आउट भएको शङ्काले छानबिनसम्म भएको रिजाल सुनाउँछन्। तर नतिजा आउँदा उनी १ नम्बरमै सिफारिस भए। 
दशैँको नौरथा सुरु भइसकेको बेला दशैँ खर्च ११०० रुपैयाँ आउने आशमा बुबाले उनलाई पैदलै ओखलढुङ्गा पु¥याएका थिए। बाटोमा पहेंलपुर अम्बा खाँदै, दुई दिनको बाटो पैदल हिँडेरै ओखलढुङ्गा पुगेका थिए। नियुक्ति बुझ्न गएको बेलामा सम्झँदै उनले भने, ‘बीबीसी नाम गरेको स्थानीय होटलको मुढामा बसेर पहिलो गाँस खाएको पनि याद छ।’
२०४८ सालको कर्मचारी आन्दोलनमा उनका बेन्चमेट साथीले गोली लागेर ज्यान गुमाएपछि भावनामा तातिएका उद्धव प्रचार समितिको संयोजक बने, जसका कारण सजाय स्वरूप उनको सिराहा सरुवा भयो। सिराहामा चार वर्ष बस्दा बि एड सकेका थिए। उनले २०५२ फागुनमा लेखापालमा १ नम्बरमै नाम निकालेर धरानको कोशी बेसिन कार्यालय पुगे। ५ वर्ष ४ महिना मुखियाको जागिर खाएपछि २०६० सालमा उनले खुला प्रतिस्पर्धाबाटै ३ नम्बरमा नाम निकालेर शाखा अधिकृत पदमा प्रवेश गरे। अधिकृत बनेपछि लोकसेवा तयारीका लागि लेखेको पुस्तक १५ हजार प्रति बिक्री भयो । अनि उनले लोकसेवाका तयारी कक्षामा पनि पढाउन थाले। पुस्तक बेचेर प्राप्त रकम र पढाएर कमाएको रकमले काठमाडौँमा घडेरी जोडेर घर बनाउन सफल भएको उनले सुनाए। ५ वर्ष अधिकृतको सेवापछि खुला प्रतिस्पर्धाबाटै उपसचिव बनेका रिजाल जहाँ–जहाँ पुगे, त्यहाँ अप्ठ्यारा र चुनौतीले उनलाई पर्खिरहेका हुन्थे। निर्वाचन आयोगमा ३ वर्षदेखि रोकिएको र अर्बौँ बजेट फ्रिज भइरहेको ’फोटोसहितको मतदाता नामावली’ को काम उनले रणनीतिक योजना बनाएर मात्र ६७ करोड रुपैयाँमै फत्ते गराइदिन सफल भएको समेत दाबी गरे। भक्तपुर नगरपालिकामा हाजिर भएको दुई दिनमै २०७२ को भूकम्प जाँदा अस्पतालमा १५१ वटा शव देखेपछि तर्सिए पनि उनले आफ्नै ज्ञानको प्रयोग गर्दै रातारात शव व्यवस्थापन, अस्थायी शिविर र हैजा फैलिन नदिने खाल्डो प्रणालीको नेतृत्व गरेको उनको अनुभव छ। 
सह–सचिव बनेपछि धरान उपमहानगरको कार्यकारी अधिकृत बनेर  मेयर हर्क साम्पाङले नेतृत्व गरेको पालिका पुगेका थिए। उनले भने, हर्कलाई असहयोग गर्न पठाइएको हल्लाका बिच मैले मेयरसँग मिलेर १५ दिनमै नक्सा पास प्रणालीलाई पूर्णतः पेपरलेस, पेन लेस र फेसलेस बनाइदिएँ।’ पछि यातायात व्यवस्था विभागको महानिर्देशक हुँदा १ लाख २ हजार ७११वटा नक्कली लाइसेन्सको छानबिन गराएर राज्य संयन्त्रभित्रको ठुलो धाँधली सार्वजनिक गरिदिएको दाबी रिजालले गरे। वि.सं.२०५४ साल माघ २४ गते विवाह बन्धनमा बाँधिएका रिजालका एक छोरी र एक छोरा छन्, जहाँ उनकी छोरी पनि निजामती सेवामै नायब सुब्बा (नासु) पदमा कार्यरत छिन्।
उमेरको ५८ वर्षसम्म जागिर खाने सुविधा हुँदाहुँदै पनि ५४ वर्षकै उमेरमा उनले ३६ वर्ष ६ महिनाको लामो सेवा अवधि पूरा गरी स्वैच्छिक अवकाश लिने निर्णय गरेका छन्। पेन्सन अप्टिमम लेभलमा पुगिसकेकाले धेरै लोभ गर्नु परेन भन्दै उनले १८ वर्षमा सरकारी सेवा प्रवेश गरेर ३६ वर्ष सेवा गरी ५४ वर्षको उमेरमा सेवाबाट बिदा लिए। 
ओखलढुङ्गाको उकालोमा अम्बा खाँदै नियुक्ति बुझ्न जाने १८ वर्षका ती लजाउने ठिटोदेखि राज्यका दर्जनौँ निकाय, मन्त्रालय र विपद् व्यवस्थापनमा निर्भीक भई काम गर्ने सह–सचिव रिजालले कोशी प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय, मधेस र कोशी  सरकारको योजना आयोग, मधेसको गृह मन्त्रालय र कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय लगायतमा लामो समय काम गरेर बिदाइ भएका छन्।  उनी आफू अप्ठेरो ठाउँमा पनि काम गर्न आफू सहज हुनु पर्ने दाबी गर्छन्।