सुनसरी । कोशी प्रदेशस्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुनसरी जिल्ला च्याम्पियन भएको छ ।
इटहरीमा आइतबारदेखि सुरु भएको प्रतियोगिताको अन्तिम दिन सोमबार सुनसरी २१ स्वर्ण सहित च्याम्पियन बनेको हो ।
प्रतियोगितामा झापा १८ स्वर्ण सहित दोस्रो बन्दा मोरङ १६ स्वर्ण जित्दै तेस्रो बनेको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना प्रतियोगिता आइतबार सुरु भएको थियो । प्रतियोगितामा १४ वटै जिल्लाबाट छनौट भएर आएका कोशी प्रदेशका १ हजार ७ सय खेलाडीको सहभागिता रहेको कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव बिप्लव घोषले जानकारी दिए ।
एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुको गरी ६ विधामा सञ्चालन भएको प्रतियोगिताबाट छानिएका खेलाडीलाई सोमबार सांझ मुख्य मन्त्री हिक्मत कार्कीले बिदाई गरे । कोशी प्रदेशबाट छनौट भएका १ सय १५ जना खेलाडी तथा अफिसियललाई काठमाडौंमा बुधबारदेखि हुने राष्ट्रिय प्रतियोगिताको लागि बिदाई गर्दै मुख्यमन्त्री कार्कीले उत्कृष्ट प्रदर्शन गर्दै कोसी प्रदेशले धेरैभन्दा धेरै पदक जित्नेमा ढुक्क रहेको बताए ।















