विराटनगर — नेपाल प्रहरी संगठनको ७१ औं स्थापना दिवसका अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरसहित प्रदेशअन्तर्गतका जिल्ला प्रहरी कार्यालयमा शुक्रबार विभिन्न कार्यक्रम आयोजना गरिएको छ।

‘विपद्मा सारथी, संकटमा छहारी : प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा अमर प्रहरीका परिवारलाई सम्मान गर्नुका साथै उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी र मेधावी विद्यार्थीलाई पुरस्कृत गरिएको हो।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर परिसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरेका थिए।

बटुकको स्वस्तिवाचनसहित सुरु भएको कार्यक्रममा अमर प्रहरीको सम्मानमा शोक सलामी र मौनधारण गरिएको थियो। उपस्थित अतिथि, प्रहरी कर्मचारी तथा अमर प्रहरीका परिवारले स्मारकमा पुष्पगुच्छा अर्पण गरेका थिए।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष सरिता खनालसहित संघका पदाधिकारीले अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मान गरे।

संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ खटिएका बेला UNAMID मिसनमा वीरगति प्राप्त गरेका प्रहरी कार्यालय सहयोगी उमेशकुमार मेहत्तरलाई प्रदान गरिएको ‘ड्याग ह्यामरसोल्ड मेडल’ उनकी परिवारका सदस्यलाई मुख्यमन्त्री कार्कीले हस्तान्तरण गरे।

कार्यक्रममा प्रहरी कार्यमा सहयोग पुर्‍याउने व्यक्ति तथा संघसंस्था, प्रहरीलाई निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादाता र अक्षयकोष तथा पुरस्कार कोषका संस्थापकलाई सम्मान गरिएको थियो। एसईई तथा उच्च शिक्षामा उत्कृष्ट अंक हासिल गर्ने बहालवाला, पूर्वप्रहरी र अमर प्रहरीका परिवारका सन्ततिलाई छात्रवृत्ति प्रदान गरिएको थियो।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षा, ट्राफिक व्यवस्थापन, अपराध अनुसन्धानलगायतका क्षेत्रमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई नगद पुरस्कारसमेत प्रदान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले स्थापना कालदेखि नै नेपाल प्रहरीले विभिन्न आरोह–अवरोह पार गर्दै राष्ट्र र नागरिकको सेवामा अग्रपंक्तिमा रहेर काम गर्दै आएको बताए। उनले अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे।

प्रहरी कर्मचारीको मनोबल उच्च बनाउन पुरस्कार कोष स्थापना गर्ने र प्रहरीलाई निःशुल्क जग्गा उपलब्ध गराउने दाताप्रति आभार व्यक्त गर्दै उनले पुरस्कृत प्रहरी कर्मचारी तथा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीलाई आगामी दिनमा अझ उत्कृष्ट काम गर्न प्रेरित गरे।

कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पा, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराई र प्रदेश सरकारका प्रमुख सचिव नारायणप्रसाद भट्टले प्रहरी दिवसको शुभकामना व्यक्त गरेका थिए।

कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको शुभकामना सन्देश वाचन गरेका थिए। कार्यक्रमको अन्त्यमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले अमर प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उपस्थित अतिथि तथा सहभागीलाई धन्यवाद दिएका थिए। उनले मुख्यमन्त्री कार्कीलाई कृतज्ञताको प्रतीक प्रदान गरी सम्मानसमेत गरे।