विराटनगर । गए राती आएको हावाहुरीका कारण सुनसरी मोरङका अधिकांश स्थानमा विद्युत् अवरुद्ध भएको छ । हावाहुरीका बिजुलीका पोल ढल्दा विद्युत् अवरुद्ध भएको हो ।

सुनसरीको दुहबी क्षेत्र र मोरङको बेलवारी क्षेत्रमा बिजुलीको पोल ढल्दा विद्युत् आपूर्तिमा  समस्या भएको हो । यस्तै केही स्थानमा हावाहुरीका कारण बिजुलीका तार समेत चुँडिएका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार मोरङको बेलबारीमा हाइटेन्सन प्रसारण लाइनका पोल ढलेका छन् ।

यस्तै दुहबीमा ३३ केभी प्रसारण लाइनमा समस्या भएको छ । मोरङको बेलबारी क्षेत्रमा २२ वटा हाइ टेन्सन प्रसारण लाइनका पोल ढलेको विद्युत् प्राधिकरणले जनाएको छ । यस्तै ४ सय केभीको ४ वटा पोलमा क्षति  पुगेको छ । हाइ टेन्सन प्रसारणको विद्युत् पोल ढल्दा बेलबारी पूर्व समेत विद्युत् सेवा अवरुद्ध भएको छ ।

विद्युत् प्राधिकरण कोशी प्रदेशका प्रमुख कमल आचार्यले विद्युत् सेवालाई आज साँझसम्ममा अस्थायी रूपमा सुचारु गर्ने तयारी भइरहेको बताए । उनले संरचनाहरूमा पुगेको क्षतिका कारण पूर्ण र स्थायी रूपमा विद्युत् सुचारु हुन भने केही दिन लाग्ने देखिएको छ ।

“लाइन सुचारु मात्र गराउन धेरै समय नलागे पनि भाँचिएका पोलहरू फेरेर पुरानै अवस्थामा ल्याउन भने दुई–चार दिनको समय लाग्छ,” प्रमुख आचार्यले भने, “गर्मीका कारण बेलुकाको समयमा ‘पिक लोड’ बढी हुने भएकाले वैकल्पिक व्यवस्था गर्दा पनि केही ठाउँमा लोड नपुग्ने समस्या हुन सक्छ ।”