सुनसरी । एसइई दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै शैक्षिक मेला तथा सीप प्रदर्शनी कार्यक्रम आयोजना हुने भएको छ । उच्च शिक्षा अध्ययन गर्न तयारीमा रहेका विद्यार्थीहरूलाई लक्षित गर्दै विराटनगरमा वृहत् प्राविधिक तथा व्यावसायिक शिक्षा मेला तथा सीप प्रदर्शनी गरिने भएको हो ।
कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी) कोशी प्रदेश कार्यालयको आयोजनामा आगामी जेठ २ र ३ गते मेला सञ्चालन हुनेछ ।
मेलाले विशेष गरी एसइई पछिको उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरूलाई भविष्यको अध्ययन, करिअर तथा सीपमूलक शिक्षाको सही मार्ग पहिचान गर्न महत्त्वपूर्ण सहयोग पुग्ने सिटिइभीटीका वरिष्ठ प्राविधिक अधिकृत शिशिर सुब्बाले जानकारी दिए ।
विराटनगर स्थित आदर्श माध्यमिक विद्यालय परिसर मा हुने मेलामा कोशी प्रदेशका १४ वटै जिल्लाका विद्यालयका विद्यार्थी, शिक्षक, विद्यार्थीका अभिभावकहरूको सहभागिता रहने अधिकृत सुब्बाले जानकारी दिए । उनका अनुसार विद्यार्थीहरूले मेलामा प्राविधिक तथा व्यावसायिक शिक्षाका विविध क्षेत्रबारे प्रत्यक्ष जानकारी प्राप्त गर्नुका साथै आफ्नो रुचि र क्षमता अनुसारको विषय छनोटै गर्न सहज हुने छ ।
मेलामा ४० वटा शैक्षिक स्टल रहेछन् । स्वास्थ्य, इन्जिनियरिङ, कृषि, सूचना प्रविधि तथा हस्पिटालिटी लगायतका विषयमा प्रत्यक्ष सीप प्रदर्शनी हुनेछ । प्रदर्शनीमार्फत प्रयोगात्मक कार्य, परियोजना तथा नवीनतम प्रविधिको अवलोकन गर्न सकिने छ ।
परिषद् अन्तर्गतका आङ्गिक शिक्षालय, टेक्स विद्यालय, साझेदारी शिक्षालय, सम्बन्धन प्राप्त निजी शिक्षण संस्था तथा विभिन्न तालिम प्रदायक निकायहरूले आफ्ना शैक्षिक कार्यक्रम, अध्ययन अवसर तथा प्रयोगात्मक गतिविधिहरू प्रस्तुत गर्ने सिटिइभीटिले जानकारी दिएको छ ।
















