सुनसरी — अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालय विराटनगरको पहल तथा दुहबी नगरपालिकाको समन्वयमा आयोजित वातावरण र मानवअधिकार विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले साझा प्रतिबद्धता-पत्र जारी गरेका छन्।
नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय तथा व्यवसायीहरूले वातावरण संरक्षण र मानवअधिकारको सम्मान गर्दै दिगो विकासका लक्ष्य प्राप्तिमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका हुन्।
प्रतिबद्धता-पत्रमा उद्योग, कलकारखाना तथा विभिन्न पेशा–व्यवसाय सञ्चालन गर्दा मानवअधिकारका आधारभूत सिद्धान्तको पूर्ण सम्मान गर्दै कानुनी व्यवस्था पालना गर्ने उल्लेख गरिएको छ।
साथै नेपालको संविधानले प्रत्याभूत गरेको स्वच्छ वातावरणको मौलिक हकको सम्मान गर्दै आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्ने जनाइएको छ।
यस्तै, वातावरणीय अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूको कार्यान्वयनमा जोड दिइएको छ।
मानवअधिकार उल्लंघनसम्बन्धी गुनासो सुनुवाइ र समाधानका लागि प्रभावकारी संयन्त्र विकास गर्ने, जीवन, स्वास्थ्य, खाद्य, पानी र सरसफाइजस्ता आधारभूत अधिकार सुनिश्चित गर्न पहल गर्ने विषय पनि समेटिएको छ।
प्रतिबद्धता-पत्रमा वातावरण संरक्षण ऐन २०७६, वातावरण संरक्षण नियमावली २०७७, फोहोरमैला व्यवस्थापन ऐन २०६८ लगायत विद्यमान कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ।
साथै स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार वातावरणीय अधिकारको पूर्ण कार्यान्वयनका लागि सहकार्य गर्ने जनाइएको छ।
जलवायु परिवर्तनका कारण मानव जीवन र प्रकृतिमा परेको असर न्यूनीकरण गर्न दिगो विकास लक्ष्य प्राप्तिमा निरन्तर सक्रिय रहने, स्वच्छ पानी, सरसफाइ, स्वच्छ ऊर्जामा सहज पहुँच विस्तार गर्ने तथा जैविक विविधता संरक्षणमा प्रतिबद्ध रहने सहभागीहरूले जनाएका छन्।

















