सुनसरी । पत्रकार तथा साहित्यकार कृष्ण अधिकारीको नियात्रा  ‘मैले देखेको अमेरिका’ विमोचन गरिएको छ ।

नेपाली लेखक संघ, कोशी प्रदेशको आयोजनामा विराटनगरमा एक कार्यक्रमको आयोजना गरी पुस्तक विमोचन गरिएको हो । प्रा.डा. गोपाल भण्डारीले कृति विमोचन गरेका थिए । लेखक कृष्ण अधिकारीले अमेरिका भ्रमणका क्रममा देखे भोगेका विभिन्न पाटाहरुलाई यस पुस्तकमा समेटेका छन् । 

कृति विमोचन पछि कार्यक्रममा उपस्थित विभिन्न साहित्यकारहले धारणा राखेका थिए । 

पुस्तक विमोचन गर्दै प्रा.डा. गोपाल भण्डारीले अधिकारीको पुस्तकले अमेरिकालाई नेपाली आँखाबाट वस्तुगत रूपमा नियालेको बताए । पुस्तकको समीक्षा गर्दै कवि मनु मञ्जिलले अधिकारीको लेखनमा तथ्य र अनुभूतिको सुन्दर सन्तुलन रहेको बताए  ।

यस्तै, समालोचक भूषण दाहालले पुस्तकको भाषा–शैली सरल र सूत्रात्मक रहेको भन्दै प्रशंसा गरे ।

अर्का वक्ता कविराज न्यौपानेले भोजपुरको दिङ्ग्लाबाट अमेरिका पुगेका लेखकले दुई भिन्न भूगोल र संस्कृतिको तुलनात्मक चित्रण रोचक ढंगले प्रस्तुत गरेको धारणा राखे ।

कार्यक्रममा अन्य वक्ताहरूले अधिकारीको पत्रकारिताको अनुभवले नियात्रालाई थप विश्वसनीय बनाएको धारणा राखेका थिए ।

लेखक अधिकारीले आधुनिक पाठकको समय अभावलाई ध्यानमा राख्दै लामा व्याख्याभन्दा छोटो र सूत्रात्मक शैलीमा ४१ वटा यात्रा संस्मरणहरू समेटेको बताए । उनले आफ्नो भ्रमणका क्रममा देखिएका साना तर अर्थपूर्ण घटनाहरूलाई पुस्तकमा स्थान दिएको बताए ।

नेपाली लेखक संघ, कोशी प्रदेशका अध्यक्ष गोकुल अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।