सुनसरी - इटहरी उपमहानगरपालिका–११ बाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा शनिबार राति करिब ८ बजे शारदा विकको घरमा छापा हानेको थियो ।
सो क्रममा उक्त घरमा डेरा गरी बस्दै आएका भारत, बिहार नरपतगन्जका २९ वर्षीय मोहमद सहनेवाजको कोठाबाट लुकाइराखिएको अवस्थामा लागुऔषध फेला परेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
प्रहरीका अनुसार सहनेवाजको कोठाबाट ट्रामाडोल ५० हजार ५ सय ४० क्याप्सुल र डाइसाइक्लोमिन ९ हजार ५ सय २० ट्याब्लेट गरी जम्मा ६० हजार ६० पिस लागुऔषध बरामद गरिएको छ ।
बरामद लागुऔषधसहित सहनेवाजलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
हाल उनलाई इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखिएको छ भने उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
















