विराटनगर। मोरङको नेमुवामा रहेको स्मृति इङ्लिस बोर्डिङ स्कुलले नयाँ शैक्षिक सत्र २०८३ लाई लक्षित गरी विद्यालयको शिक्षण पद्धतिमा परिवर्तन गर्ने घोषणा गरेको छ। विगतका वर्षहरूमा प्रारम्भिक बाल विकास (नर्सरी, एलकेजी र युकेजी) तहमा सफल देखिएको मन्टेश्वरी विधिलाई यस वर्षदेखि प्राथमिक तहका माथिल्लो कक्षाहरूमा पनि विस्तार गरिने विद्यालयले जनाएको छ ।
आधारभूत तहदेखि नै जग बलियो बनाउने लक्ष्य विद्यालयका अनुसार गत वर्ष नर्सरी, एलकेजी र युकेजीमा परीक्षणका रूपमा लागू गरिएको बालमैत्री सिकाई विधि अत्यन्तै प्रभावकारी देखिएको विद्यालयले जनाएको छ। यो क्रम यस वर्षदेखि कक्षा ५ सम्म नै अभियानको रूपमा पढ्दै खेल्दै शिक्षण सुरु गर्न लागिएको हो। विद्यार्थीहरूलाई विद्यालयको वातावरणप्रति आकर्षित गर्न र घोकन्ते शिक्षाको बोझ कम गर्न लागिएको विद्यालय प्रशासनले जनाएको छ।
विद्यालयका प्रिन्सिपल रिता न्यौपानेले बालबालिकाको मनोविज्ञान बुझेर मात्रै उनीहरूलाई सिकाउन सकिने बताइन्। ‘हामीले साना बालबालिकालाई अक्षर चिनाउनु मात्र ठुलो कुरा होइन, उनीहरूमा सिक्ने भोक जगाउनु मुख्य कुरा हो भन्ने बुझेका छौँ, उनले भनिन्, ‘गत वर्ष साना कक्षामा खेल्दै पढ्ने वातावरण मिलाउँदा बालबालिकाको उपस्थिति र सिकाई उपलब्धिमा उल्लेख्य सुधार आएको थियो। त्यसैले नयाँ शैक्षिक सत्रदेखि कक्षा ५ सम्म नै बालमैत्री पद्धतिलाई निरन्तरता दिने योजना बनाएका छौँ।’
किताबी ज्ञानसँगै विभिन्न दृश्य–श्रव्य र खेल सामग्री, परियोजना कार्य लगायतमा उनीहरूलाई अभ्यस्त बनाउने गरी सिकाइको क्षेत्रलाई बलियो बनाइने उनको भनाई छ। न्यौपानेका अनुसार, चित्रकला, नृत्य, सङ्गीत र शारीरिक व्यायामलाई दैनिक पठनपाठनसँग जोडिनेछ।
विद्यालयले व्यस्त रहने अभिभावकलाई लक्षित गरेर होस्टेल तथा दिवा होस्टल समेत सञ्चालनमा ल्याएको जनाएको छ। बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म व्यस्त रहने बालबालिकाका अभिभावकलाई लक्षित गरी यो समय विद्यालयमा नै आफ्ना बालबालिका रहने छन्।
यो समयमा विद्यालयले नै खाना, खाजा, तथा अतिरिक्त पठन पाठनको समेत व्यवस्था गरेको उनले जानकारी दिइन्। यस विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १० सम्म पठन पाठन हुँदै छ । भर्खरै सकिएको एसइई परीक्षामा विद्यालयले ३५ जना विद्यार्थीलाई सहभागी गराएको थियो।
















