विराटनगर । नेपाली काँग्रेसले पार्टीलाई पूर्ण रुपान्तरण गरेर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ । 

नेपाली काँग्रेसको कोशी प्रदेशस्तरीय चुनावी समीक्षा कार्यक्रममा नेताहरूले पार्टीको नेतृत्व, नीति र सिद्धान्तमा गम्भीर पुनर्विचार गर्नुपर्नेमा जोड दिएका छन् ।

बुुधबार विराटनगरमा आयोजित निर्वाचनको परिणाम र वर्तमान सांगठनिक अवस्थाबारे छलफल गर्न आयोजित कार्यक्रममा पार्टीभित्र आन्तरिक सुधार, नीतिगत स्पष्टता र संगठन सुदृढीकरण गर्न आवश्यक रहेको बताएका छन् । 

कार्यक्रममा सहभागी प्रतिनिधि सभाका सदस्य, पराजित उम्मेदवार तथा जिल्ला सभापतिहरूले नेतृत्वप्रति जनताको विश्वास घट्दै गएको र भ्रष्टाचारको छवि तथा कमजोर कार्यशैलीले निराशा बढाएको भन्दै चिन्ता व्यक्त गरे । साथै, डिजिटल युग सुहाउँदो सूचना प्रवाह र जनसम्पर्कमा कांग्रेस कमजोर देखिएको उनीहरूको ठम्याइ छ । 

कार्यक्रममा झापा–३ का उम्मेदवार राजेन्द्र घिमिरेले ’जरा अभियान’ लाई पार्टी शुद्धीकरणको आधार बनाउनुपर्ने बताए । 

त्यस्तै, मोरङ–५ का फुलकुमार लालवानीले पार्टीमा सुधार र अनुशासनहीनलाई कारबाही गर्ने प्रक्रिया सँगसँगै लैजानुपर्ने सुझाव दिए। 

झापा–२ की उम्मेदवार सरिता प्रसाईंले पार्टीको क्रियाशील सदस्य बन्ने तर चुनावमा आफ्नै दललाई भोट नहाल्ने डरलाग्दो परिस्थिति निर्माण भएको भन्दै संगठनको गम्भीर ध्यानाकर्षण गराइन्।

समीक्षाका कार्यक्रममा बोल्दै खोटाङका वीरकाजी राईले २६ वर्षदेखि जिल्लामा काँग्रेस विजयी हुन नसक्नुमा गुटबन्दी र नियति मुख्य बाधक रहेको बताए । 

संखुवासभाका दीपनकुमार श्रेष्ठले आपसी बेमेल त्यागेर एकढिक्का हुनुपर्नेमा जोड दिए त्यस्तै  सोलुखुम्बुका प्रकाश सिंह कार्कीले विशेष महाधिवेशनपछि नयाँ नेतृत्व आउँदा मतदातामा सकारात्मक सन्देश गएको अनुभव सुनाए ।

पार्टी सभापति गगन कुमार थापा, महामन्त्रद्धय गुरुराज घिमिरे र प्रदीप पौडेलको उपस्थिति रहेको कार्यक्रममा वक्ताहरूले “पराजित भए पनि हारेका छैनौँ“ भन्दै पार्टी निर्माण गर्ने संकल्प गरे ।