विराटनगर । विराटनगरको रानी नाकामा भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट स्रोत नखुलेको ५ लाख १ सय १५ रूपैयाँ बरामद भएको छ। उक्त रकम ओसारपसारमा संलग्न एक भारतीय नागरिक पक्राउ परेका छन्।
सशस्त्र प्रहरी ले विराटनगर महानगरपालिका–१५ स्थित दुई नम्बर ढाटबाट भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ एनएन १४३८ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो।
्
चेकजाँचका क्रममा मोटरसाइकल चालक भारतको बिहार राज्य, अररिया जिल्ला, जोगवनी–१० का ३० वर्षीय आनेश कुमार चौधरीको साथबाट उक्त रकम फेला परेको हो।
सशस्त्र प्रहरीका अनुसार, बरामद रकममा एक हजार दरका २०० थान, पाँच सय दरका ६०० थान, एक सय दरको १ थान, १० रूपैयाँको १ थान र पाँच रूपैयाँको १ थान नोट रहेका छन्।
चौधरीले उक्त रकमको वैध स्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको छ। प्रहरीले यो रकम अवैध हुण्डी कारोबारसँग जोडिएको हुन सक्ने अनुमान गरेको छ।
















