सुनसरी । कोशी प्रदेशसभाको चालु हिउँदे अधिवेशन तीन विद्येयक पास गर्दै अन्त्य भएको छ। 

सोमबार बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गरेपछि त्यसैका आधारमा प्रदेश प्रमुखबाट अधिवेशन समापन गरिएको हो। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १८३ को उपधारा २ अनुसार सोमबार राति १२ बजेदेखि आठौं अधिवेशन अन्त्य गरेका हुन्। 


 सभामुख अम्बरबहादुर विष्टले सोमबारको प्रदेशसभा बैठकमार्फत अधिवेसन अन्त्यको जानकारी दिएका थिए। हिउँदे अधिवेशन माघ २५ गते सुरू भएको थियो।

यस अधिवेशनले तीन वटा विधेयक पारित गरेको सभामुख विष्टले बताए।

अधिवेसनको अन्तिम बैठकले कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।  यो विधेयक सोमबारको बैठकले सर्वसम्मतिले पारित गरेको हो।


आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेपछि सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा कुनै विरोध नआएपछि विधेयक सर्वसम्मतिले पारित भएको हो।

यसअघि न्याय प्रशासन तथा विधायन समितिका सभापति कमला दर्नालले उक्त विधेयक सम्बन्धी समितिको प्रतिवेदन सभामा पेस गरेकी थिइन्। प्रतिवेदन सहितको विधेयकमाथि छलफलका लागि प्रस्ताव राखिए पनि कुनै सांसदले धारणा राखेनन्।


यस्तै यो सभामा प्रदेश अनुसन्धान तथा प्रशिक्षण ऐन, २०७९ संशोधन गर्न बनेको विधेयक र प्रदेश विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि पारित भएका छन्।

अधिवेशनको अन्तिम बैठकमा विशेष समय अन्तर्गत विभिन्न दलका सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका थिए। भदौ २३ र २४ को जेनजी आन्दोलनको दोस्रो दिन तोडफोड, आगजनी र लुटपाटबाट देवकोटाचोकस्थित प्रदेशसभा भवन ध्वस्त बनेपछि हिउँदे अधिवेशन वीरेन्द्र सभागृह भाडामा लिएर सञ्चालन भएको थियो।