विराटनगर। कोशी प्रदेश सभाको चालु आठौँ अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख परशुराम खापुङ्गले सोमबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको अधिवेशन अन्त्य गरेका हुन्। प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी गरिएको उक्त विज्ञप्तिमा सोमबार मध्यरातदेखि नै प्रदेश सभाको चालु अधिवेशन समाप्त हुने भनिएको छ। प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार, नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम कोशी प्रदेश सरकार, मन्त्रिपरिषद्को चैत २३ गतेको सिफारिसमा प्रदेश सभाको अन्त्य गरिएको छ। प्रदेश सभाको आठौँ एवम् हिउँदे अधिवेशन माघ २५ गतेदेखि बसेको थियो । प्रदेश सभाको भवन जेनजी आन्दोलनको क्रममा जलाइएपछि १५ वटा बैठक विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको वीरेन्द्र सभागृहबाट सञ्चालन भएको थियो। अहिले प्रदेश सभा सचिवालय रहेको कटहरी स्थित एकीकृत तरकारी तथा फलफूल थोक बजारमा हल नभएपछि वैकल्पिक उपाय अपनाइएको थियो । अहिले सचिवालय रहेको कटहरीमा प्रदेश सभाको अस्थायी सभा निर्माणको काम भइरहेको प्रदेश सभा सचिवालयले जनाएको छ।

















