सुनसरी । यस वर्षको ‘षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार’ धनकुटाका पत्रकार हरिबहादुर लम्जेललाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवसको अवसर पारेर आज पुरस्कार वितरण गरिएको हो ।
महासंघ मोरङले आयोजना गरेका कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले लम्जेललाई पुरस्कार प्रदान गरे । पत्रकार लम्जेललाई नगद २५ हजार २५ रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको छ ।
पत्रकार लम्जेल डेढ दशकदेखि धनकुटामा रहेर पत्रकारिता गर्दै आएका छन् । उनी नेपाल पत्रकार महासंघ धनकुटा शाखाका सचिव तथा अन्नपूर्ण पोस्टका जिल्ला समाचारदाता समेत हुन् ।
पत्रकार लम्जेलले राज्यका विभिन्न निकायसम्म सूचना माग र त्यसको उपयोगमार्फत निरन्तर रूपमा जवाफदेहिताको सवाल उठाउँदै आएका कारण पत्रकार लम्जेललाई यस वर्षको पुरस्कारका लागि छनोट गरिएको पत्रकार महासंघ मोरङले जानकारी दिएको छ ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले तथ्यमा आधारित, खोजमूलक र उत्तरदायी पत्रकारिताले मात्र समाजमा विश्वास र पारदर्शिता स्थापित गर्न सक्ने बताए ।
नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकले सूचना अधिकारको क्षेत्रमा सक्रिय पत्रकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको जानकारी दिइन् । उनले आगामी दिनमा पुरस्कारको दायरा विस्तार गर्दै अझ बढी पत्रकारलाई प्रेरित गर्ने योजना रहेको पनि स्पष्ट पारिन् ।
कार्यक्रमको अवसरमा नेपाल पत्रकार महासंघ मोरङले प्रकाशन गरेको नयाँ वर्ष २०८३ सालको क्यालेन्डर पनि विमोचन गरिएको थियो ।

















