विराटनगर। विराटनगरमा जारी घर निर्माण प्रदर्शनीको तेस्रो दिन विशेष थिमेटिक सेसनमार्फत वास्तु र इन्टेरियर डिजाइनका विविध पक्षमा गहन छलफल भएको छ। उद्योग सङ्गठन मोरङको आयोजनामा विराटनगरस्थित जैन भवनको परिसरमा सञ्चालन भइरहेको उक्त कार्यक्रममा ‘स्मार्ट डिजाइन: वास्तु, इन्टेरियर डिजाइन र प्राविधिक योजना’ थिम अन्तर्गत विज्ञहरूले आफ्ना धारणा राखेका थिए।
सो अवसरमा इन्टेरियर डिजाइनर कृति श्रेष्ठ उपाध्यायले इन्टेरियर डिजाइनलाई केवल सजावट र विलासिताको रूपमा मात्र नहेरी यसलाई कला र प्रविधिको सुन्दर सम्मिश्रणका रूपमा बुझ्नुपर्नेमा जोड दिइन्। उनले घरलाई सहज, सरल र सुरक्षित बनाउन इन्टेरियर डिजाइनिङ्गले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै यसमा हावाको बहाव र सूर्यको प्रकाशजस्ता प्राकृतिक तत्त्वहरूको सही संयोजन मिलाउनु अनिवार्य रहेको उल्लेख गरिन्। विगत एक दशकदेखि यस क्षेत्रमा क्रियाशील उपाध्यायले डिजाइनिङ्गका सिद्धान्त र एलिमेन्ट्सका बारेमा प्रकाश पार्दै विलासी वस्तुको प्रयोगले मात्र डिजाइन पूर्ण नहुने प्रस्ट पारिन्।

त्यसै गरी, वास्तुविद् रोज धाडेवाले आधुनिक घर निर्माणमा वास्तु विज्ञानको महत्वका बारेमा जानकारी गराए। उनले घर निर्माण गरिएको दिशा, जमिनको प्रकृति र रङले मानवीय जीवनमा प्रभाव पार्ने बताउँदै भवन निर्माण सम्पन्न भइसकेपछि वास्तु मिलाउने नाममा संरचना भत्काउनु भन्दा निर्माण सुरु गर्नुअघि नै यस विषयमा सचेत रहनु बुद्धिमानी हुने सुझाव दिए। घरका सदस्यहरूको स्वभाव र प्रकृति अनुसार वास्तुको प्रभाव फरक रहने उनको भनाइ थियो।
चैत १२ गतेदेखि सुरु भएको यो प्रदर्शनी १६ गतेसम्म चल्नेछ। प्रदर्शनीको चौथो दिन इन्टेरियर डिजाइनको थप अवधारणा, घर अटोमेशन, आधुनिक जीवनशैली, विद्युतीय सुरक्षा, ऊर्जा दक्षता र सोलार घरका विषयमा विज्ञहरूसँग अन्तरक्रिया हुने सङ्गठनका महानिर्देशक चूडामणि भट्टराईले जानकारी दिए।

















