विराटनगर । पत्रकार अर्जुन आचार्यलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।


झापा क्षेत्र नम्बर ५ मा चुनावी समाचार संकलनका क्रममा पत्रकार आचार्यलाई कुटपिट गरेको आरोपमा प्रहरीले युवराज पाठकलाई पक्राउ गरेको हो । किटानी जाहेरी दर्ता भएको दुई साता पछि प्रहरीले शनिबार बिहान पाठकलाई पक्राउ गरेको हो ।


निर्वाचनका बेला झापा पुगेका बेला आचार्यमाथि कुटपिट भएको थियो । कुटपिटमा संलग्न रहेको आरोपमा पाठकलाई झापाको शिवसताक्षी नगरपालिका–४ स्थित बुलुचोकबाट प्रहरीले पक्राउ गरेको झापा प्रहरीले जनाएको छ ।



पाठकलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले बिहानै नियन्त्रणमा लिएर दमक ल्याएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा ‘घरदैलो’ अभियानको समाचार संकलन गरिरहेका आचार्यमाथि गत फागुन १४ गते कमल गाउँपालिका–६, जीवनचोकमा कुटपिट भएको थियो ।