सुनसरी । मोरङको सुनवर्षी नगरपालिकामा रहेको एक मतदान केन्द्रमा खटिएका मतदान अधिकृत रंजित सिवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ प्रहरीका अनुसार बुधबार बेलुका करिब ६ : ५० बजे सुनवर्षी नगरपालिका–६ स्थित पटियापाडा माध्यमिक विद्यालयको (ग) मतदान केन्द्रमा खटिएका सिवाले अन्य कर्मचारीसँग झै झगडा र गालीगलौज गरेका थिए ।
निर्वाचन प्रक्रियामा असहयोग गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ परेका सिवा नेपाल विद्युत प्राधिकरण रंगेली वितरण केन्द्रमा कार्यरत सहायक पाँचौँ तहका कर्मचारी हुन् ।
इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले सिवालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय
सिजुवामा ल्याएको जनाएको छ ।
उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिएका छन् ।

















