सुनसरी । आज प्रतिनिधिसभा निर्वाचन २०८२ । बिहान ७ बजेबाट मतदान सुरु भएको छ । कोशी प्रदेशका विभिन्न मतदान केन्द्रहरुमा बिहानै देखी मतदाताहरु उत्साहका साथ मतदान गर्न लाइनमा बसेका छन् ।
मतदाताहरुले आज अपराह्न ५ बजेसम्म मतदान गर्न सक्नेछन् । निर्वाचन आयोगले मतदाता परिचयपत्र, नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतीपत्र, राहदानी र लालपूर्जा देखाएर मतदान गर्न पाइने जनाएको छ ।
मतदानमा महिला र पुरुषको छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ । अपांगता भएका, अशक्त, वृद्धवृद्धा, बिरामी, सुत्केरी, गर्भवतीहरुलाई लाइनमा बस्न नपर्ने व्यवस्था गरिएको निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन् । निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ ।

















