विराटनगर । भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार मतदान केन्द्र निर्माणदेखि सुरक्षाकर्मी परिचालन सम्मका सबै कार्य अन्तिम चरणमा पुगेका छन् ।
प्रदेश निर्वाचन अधिकारी चोलाराज दंगालले अधिकांश मतदान केन्द्रमा भौतिक व्यवस्थापन सकिएको र बाँकी रहेका सामान्य कामहरू आजै साँझसम्ममा टुङ्गिने बताए । उनले मतदानका लागि आवश्यक मतपत्र, मतपेटिका, कर्मचारी र सुरक्षाकर्मी सबै केन्द्रमा पुगिसकेका बताए ।
निर्वाचन अधिकारी दंगालले यो निर्वाचनलाई लोकतन्त्रको उत्सवका रूपमा लिएर निर्धक्क भई मतदान गर्न सबै मतदातालाई अपिल गरेका छन् । उनले भौगोलिक रूपमा विकट मानिने हिमाली जिल्लाहरूमा पनि विशेष सञ्चार र ढुवानीको व्यवस्था मिलाइएकाले बताए ।
कोशीका ताप्लेजुङ सङ्खुवासभा र सोलुखुम्बुमा का हिमपात हुने पालिकाका मतदान स्थलहरूमा मतदान प्रक्रियामा कुनै बाधा नपर्ने दङगालले बताए ।
निर्वाचनलाई भयरहित बनाउन सुरक्षा निकायले विशेष रणनीति अपनाएको छ । प्रदेशका १ हजार ९ सय ७ मतदानस्थलमध्ये ४ सय ३९ लाई ‘अति संवेदनशील’ र ८ सय २१ लाई ‘संवेदनशील’ सूचीमा राखेर सुरक्षा कडा पारिएको छ । नेपाली सेनाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रदेशका १ सय २० स्थानमा बम डिस्पोजल टोली तैनाथ गरेको छ ।
शङ्कास्पद वस्तु वा गतिविधि देखिए तत्काल रेस्पोन्स गर्ने गरी सुरक्षा गस्ती र मोबाइल टोलीलाई सक्रिय बनाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
कारागार, वृद्धाश्रम र सुरक्षा निकायमा रहेका मतदाताका लागि २४ वटा अस्थायी मतदान केन्द्रको समेत व्यवस्था गरिएको छ । मौन अवधि सुरु भएसँगै निर्वाचन आचारसंहिता पालनामा कडाइ गरिएको छ । सामाजिक सञ्जालमार्फत गरिने प्रचारप्रसार, भोजभतेर र समूहगत प्रदर्शनमाथि प्रहरीले सूक्ष्म निगरानी गरिरहेको छ । आचारसंहिता उल्लङ्घन गर्नेहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको निर्वाचन कार्यालयले जनाएको छ ।
कोशी प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमा कुल ४ सय ९५ उम्मेदवार चुनावी मैदानमा छन् भने ३५ लाख मतदाता छन् । प्रदेशभर ३५ लाख ७४ हजार ३ सय १० मतदाता रहेका छन्, जसमा १८ लाख २८ हजार २ सय १३ पुरुष, १७ लाख ४६ हजार ७३ महिला र २४ जना अन्य रहेका छन् ।















