विराटनगर । फागुन २१ गतेको प्रतितिनिधि सभा निर्वाचनको लागि सुरक्षा योजना तयार गरेको कोशी प्रदेश प्रहरी कार्यालले झापा ५मा भने ‘हाई(प्रोफाइल’ रणनीति तयार गरेको छ ।
पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार रहेको झापा क्षेत्र नं ५ लाई ‘हाई(प्रोफाइल’ संवेदनशीलतामा राखिएको छ ।
मनोनयनका क्रममा भएको झडपलाई आधार बनाएर प्रदेश प्रहरीले विशेष रणनीति तयार गरेको हो । यस क्षेत्रमा थप १०० जनाको विशेष टोली परिचालन गरिएको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद घिमिरेले भने “झापा ५ मा राष्ट्रिय अन्तर्राष्ट्रिय ध्यान रहेकाले हामीले विशेष सतर्कता अपनाएका छौँ । त्यहाँको स्थिति अहिले पूर्ण नियन्त्रणमा छ ।”
झापा ५ लाई हेर्ने गरी प्रहरी उपरीक्षक एसपीको टोली परिचालन गरिएको छ।
यस पटकको निर्वाचनमा भौतिक मुठभेडभन्दा पनि सामाजिक सञ्जालमार्फत फैलाइने अफवाहलाई प्रहरीले मुख्य चुनौतीका रूपमा लिएको छ ।
अफवाह र डिजिटल मुठभेड रोक्न प्रदेश स्तरमै ‘साइबर डेस्क’ स्थापना गरी निगरानी बढाइएको छ । सामाजिक सञ्जाल र इन्टरनेटका माध्यमबाट हुन सक्ने घटनालाई नियन्त्रणमा लिन जिल्ला तह सम्म प्रहरीले ‘साइबर डेस्क’ बनाएर अध्ययन गरिरहेको छ ।
डीआईजी घिमिरेले भने, “सामाजिक सञ्जालमार्फत एक छिनमा माहौल बिगार्ने प्रयास हुन सक्छ, त्यसैले हामीले डिजिटल गतिविधिमाथि सूक्ष्म निगरानी गरिरहेका छौँ ।”
सङ्खुवासभा, सोलुखुम्बु र ताप्लेजुङ जस्ता हिमाली जिल्लामा हिमपात र सञ्चार अवरोध हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै स्याटलाइट फोनको व्यवस्था गरिएको छ । दुर्गम क्षेत्रमा निर्वाचन सामग्री ढुवानीका लागि हेलिकप्टर समेत तयारी अवस्थामा राखिएको छ ।
यस्तै, भारतसँगको ४२७ किलोमिटर र चीनसँगको २५८ किलोमिटर सीमा क्षेत्रमा सुरक्षा कडा पारिएको छ । सीमावर्ती जिल्लाहरू झापा, मोरङ र सुनसरीमा भारतीय सुरक्षा निकायसँग काउन्टर(पार्ट बैठक सम्पन्न गरी संयुक्त गस्ती र निगरानी बढाइएको छ ।

















