सुनसरी । कोशी प्रदेशमा  प्रतिनिधि सभा निर्वाचनको सुरक्षाको तयारी पूरा भएको प्रहरीले जनाएको छ । 


 प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमा भयरहित वातावरण सुनिश्चित गर्न सुरक्षा निकायले त्रिपक्षीय समन्वयसहितको विशेष सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको हो ।


कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार निर्वाचनका लागि १२ हजार नेपाल प्रहरी र २३ हजार म्यादी प्रहरी परिचालन हुने छन् । 

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार ३५ हजार जनशक्ति प्रत्यक्ष रूपमा निर्वाचनमा परिचालन गरिएको छ ।


प्रहरीका अनुसार सशस्त्र प्रहरी बलका तर्फबाट पनि ८ हजारभन्दा बढी जनशक्ति खटिएका छन् । प्रदेशमा रहेका ३५ लाख ७४ हजार २८६ मतदाता रहेका छन् । प्रदेशमा ४ हजार २७० मतदान केन्द्र रहेका छन् । ती मतदान केन्द्रको सुरक्षाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन् ।


सुरक्षा समितिको बैठकले प्रदेशका १ हजार ९०७ मतदान स्थलमध्ये ४३९ स्थानलाई अति संवेदनशील सूचीमा राखेको छ । प्रदेश प्रहरी कार्यालय कोशीका प्रमुख डी आइजी विनोद घिमिरेले घिमिरेले सानातिना घटनालाई पनि गम्भीरतापूर्वक लिएर तत्काल ‘रेस्पोन्स’ गर्ने गरी मोबाइल टोली र रिजर्भ फोर्सलाई तयारी अवस्थामा राखिएको बताए ।

उनले भने समग्रमा सुरक्षा अवस्था सन्तोषजनक रहेको छ । मतदाताले ढुक्क भएर मतदान गर्ने वातावरण सुनिश्चित भएको छ ।