सुनसरी  । लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका तेज नारायण चौधरी फागुन २१ को निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बनेका छन्। चौधरी जनता समाजवादी पार्टीको तर्फबाट समानुपातिक उम्मेद्वार हुन । 


उत्पीडित तथा पिछडिएका समुदायको पहिचानलाई स्थापित गराउन आफु निर्वाचनमा सहभागी भएको चौधरीले बताएका छन् । आदिवासी समुदायको पहिचान र साँस्कृतिक भूमिको रक्षा  संविधान मार्फत नै सम्बोधन गर्ने आफ्नो एजेण्डा रहेको उनले बताए । 


सोमबार सञ्चारकर्मीहरुसँगको भेटघाट कार्यक्रममा उनले आफ्नो उम्मेद्वारी संविधानमा भएका कमीकमजोरीलाई सच्याउँदै नीति निर्माणमा केन्द्रित हुने बताए । 


जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका चौधरी चुनाव चिन्ह जाँतो लिएर प्रतिस्पर्धा गर्दैछन् । 

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गर्दै समृद्धि हासिल गर्ने उनको प्रतिबद्धता पत्रमा उल्लेख छ।


यस्तै पूर्ण समानुपातिक तथा समावेशी प्रणालीको सुदृढीकरण, शैक्षिक प्रणालीमा सुधार, पर्यावरणीय सन्तुलन कायम गरी दिगो विकास, सबै खालका विभेद र दण्डहीनताको अन्त्य तथा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणाली लागू गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।


समानुपातिक उम्मेदवार चौधरीले गाउँ गाउँमा आफ्ना ऐजेण्डा जनतासामु राख्दै मत मागिरहेको बताए । परिवर्तनलाई आत्मसाथ गर्दै जनताले आफुलाई मत दिनेमा आफु विश्वस्त रहेको उनले बताए ।