इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाहले नेपालीहरुलाई आफ्नै उत्पादन खुवाउन नपाएको बताएका छन् । 


मंगलबार इटहरीमा आयोजित परिवर्तन उद्घोष सभामा बोल्दै नेता बालेन शाहले इटहरीबासीलाई सोधे बिहानको खानामा कहाँको तरकारी खानुभयो ? कहाँको चिया खानु भयो ? 

 

‘चिया पिउनुभयो ? चिया कुन ठाउँको पिउनुभयो ? इलाम दमकको चिया,’ बालेनले प्रश्न गर्दै भने, ‘खाना खानुभयो ? बिहान खानाका तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको खानुभयो ।’


तेह्रथुम र पाँचथरमा उत्पादन भएको तरकारी इटहरीवासीले खान नपाएको उनले बताए । 

उनले भने,  ‘हाम्रै पूर्वी पहाडको तरकारी यही मुनि झापा, सुनसरी विराटनगरमा खान पाइएको छैन । यो दुखको कुरा हो, यो दुखको समाधान गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी,’ 


पूर्वी तराईका तीनचार वटा जिल्लाको पूर्ण सम्भावनामा धान उत्पादन गर्नसके सिंगो देशभरी खुवाउन सकिने बताउँदै उनले रास्वपाले त्यही चाहेको उनले बताए ।


करिब ५ मिनेट सम्बोधन गरेका नेता बालेनले आफ्ना चुनावी एजेण्डा सुनाए । उनले उत्पादन, पर्यटन र धार्मिक साँस्कृतिक कार्यहरुले कोशी प्रदेशको विकास गर्न सकिने बताए । 


विश्वकै पहिलो तिर्थस्थल बराहक्षेत्रको बारेमा धेरै नेपालीलाई थाहा नभएको बताउँदै उनले सबै नेपालीलाई थाहा दिने सुनाए । 


नेपालकै पुराना उद्योगहरु यहि प्रदेशमा खोलिएको तर अहिले उद्योगहरु खोल्न छाडिएको भन्दै उनले उद्योग खोल्न प्रोत्साहन गर्ने बताए ।