इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २० बर्ष सांसद भएपछि बल्ल कानुन फर्नुपर्ने ज्ञान आएको भन्दै काँग्रेस सभापति गगन थापालाई कटाक्ष गरेका छन् । 

आज(मंगलबार) इटहरीमा आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले सभापति थापालाई व्यंग्य गर्दै भने, ‘२०–२० वर्ष सांसद र मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउन १२–१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो तपाईँहरूलाई । बल्ल ज्ञान आयो । तपाईँको ज्ञान तपाईँसँगै राख्नुहोला ’ 

सभापति लामिछानेले निर्माण व्यवसायीलाई असुरक्षित महसुस नगर्न आग्रह गरे । उनले भने,  ‘बाँध्ने भनेको कानुनले बाँध्ने भनेको हो, डोरीले बाँध्ने भनेको होइन । कानुनअनुसार काम गरे कसैले केही गर्दैन ।’

धनगढीको चुनावी सभामा बालेनले सडक बनाउन ढिलासुस्ती गर्नेलाई रुखमा बाँधेर हुन्छ कि, थुनेर हुन्छ छिटो बनाउन लगाउने भनेका थिए । 

उनले भने, विज्ञप्ति निकाल्नुपर्दैन, केके उपकरण ल्याउने हो, कसरी ल्याउनुपर्ने हो ल्याउनुस् । अब नेपाल विकास निर्माणको बाटोमा जान्छ, कसैले छेक्न सक्दैन ।’