विराटनगर । नेकपा (एमाले) का तर्फबाट मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विनोद ढकालले यस क्षेत्रको सर्वाङ्गीण विकासका लागि आफ्नो विस्तृत चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। उनले विराटनगरको वर्षौँदेखिको मुख्य समस्याका रूपमा रहेको ढल निकास र डुबान नियन्त्रणका लागि ठोस गुरुयोजना बनाएर कार्यान्वयन गर्ने विषयलाई आफ्नो प्रमुख एजेन्डा बनाएका हुन्। बुबाको निधन पछि कोरामा बसेका ढकालले आइतवार गछिया, बुढीखोला, केशलिया र सिंगिया जस्ता नदीहरूको नियन्त्रण गरी तटबन्ध निर्माण गर्ने योजना अघि सार्बजनिक गरे।

आर्थिक विकास र रोजगारीका क्षेत्रमा बन्द रहेका र रुग्ण अवस्थामा पुगेका उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउन विशेष पहल गर्ने ढकालले सार्बजनिक गरेको प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ।  मजदुरहरूको हितमा कार्यक्रम ल्याउने, साना तथा घरेलु उद्योगको प्रवद्र्धन गर्ने र युवाहरूका लागि ’पढ्दै, कमाउँदै’ भन्ने अवधारणा अनुरूप आधुनिक प्रविधिमार्फत उच्च शिक्षा र स्वरोजगारमूलक तालिमलाई जोड्ने उनको योजना छ। कृषि क्षेत्रमा किसानहरूलाई समयमै मल, बीउ र सिँचाइको व्यवस्था मिलाउनुका साथै उत्पादित वस्तुको भण्डारणका लागि शीत भण्डार र संकलन केन्द्र स्थापना गर्ने विषयलाई पनि उनले प्राथमिकतामा राखेका छन् । 

सामाजिक सुरक्षा र जनसरोकारका विषयमा ढकालले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित र एकल महिलाहरूको सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न पहल गर्ने बताएका छन्। अव्यवस्थित बसोवासी र सुकुम्बासी समस्याको स्थायी समाधान खोज्ने, विपन्न परिवारलाई निःशुल्क विद्युतीय चुल्हो उपलब्ध गराउने र सहकारी तथा लघुवित्तको चर्को ब्याजदरबाट पीडित नागरिकलाई राहत दिने उनको घोषणा छ। शिक्षातर्फ विद्यालयहरूमा स्मार्ट क्लास रूमको व्यवस्था गर्ने र मदरसा तथा गुरुकुल जस्ता धार्मिक शिक्षालयहरूलाई आधुनिक शैक्षिक मूलधारमा जोड्ने लक्ष्य सहितको प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । 

क्षेत्रको पर्यटन र पूर्वाधार विकासका लागि हसिना सिमसार, सुन्दरहरैँचाका विभिन्न पोखरीहरू र मधुपार्कलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारिएको छ। उत्तरी मोरङको गछियालाई केन्द्र बनाएर प्रशासनिक कार्यालयहरू स्थापना गर्ने र पूर्व सांसद लालबाबु पण्डितको कार्यकालमा सुरु भएका अधुरा विकास निर्माणका आयोजनाहरूलाई तीव्रताका साथ पूरा गर्ने संकल्प ढकालको छ। संघीय सांसदको रूपमा स्थानीय र प्रदेश सरकारसँग समन्वय गर्दै क्षेत्रको विकासको नेतृत्व गर्ने र जनताको शिर झुक्न नदिने दृढता उनले व्यक्त गरेका छन्।

627675216_33707628245550658_4157762462407011274_n