विराटनगर। नेकपा एमालेको कान्छो भ्रातृ सङ्गठन नेशनल भोलेन्टियर फोर्स उर्लाबारी नगर कमिटी गठन भएको छ। पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा युवा स्वयंसेवकहरूको उल्लेख्य सहभागिता रहेको उक्त भेलाले सङ्गठनको साङ्गठनिक ढाँचालाई पूर्णता दिँदै नयाँ नेतृत्व चयन गरेको हो।
भेलाले सनम लामालाई नगर प्रमुख कमान्डरको जिम्मेवारी सर्वसम्मत रूपमा सुम्पेको छ । सह कमान्डरमा विपिन बान्तवा राई र उज्ज्वल लिम्बुलाई चयन गरेको छ। नवगठित नेतृत्वसहित उर्लाबारीमा १०१ सदस्यीय नगर कमान्ड फोर्स गठन भएको हो। कार्यक्रममा बोल्दै विभिन्न वक्ताहरूले सङ्गठनलाई अनुशासित, सक्रिय र पूर्ण रूपमा जनमुखी बनाउँदै अघि बढाउने साझा प्रतिबद्धता व्यक्त गरेका थिए। उनीहरूले आगामी दिनमा आइपर्ने विपद् व्यवस्थापन, सामाजिक सेवाका कार्यहरू, सरसफाइ अभियान र पार्टीका साङ्गठनिक कार्यक्रमहरूमा युवा स्वयंसेवकहरूलाई सशक्त रूपमा परिचालन गरिने जानकारी दिए।
नवनिर्वाचित प्रमुख कमान्डर सनम लामाले आफ्नो पदभार ग्रहण गर्दै युवा शक्तिलाई सही र सकारात्मक दिशामा डोर्याउन आफू प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले सङ्गठनलाई सुदृढ र व्यवस्थित बनाउँदै उर्लाबारी नगर क्षेत्रमा नेशनल भोलेन्टियर फोर्सलाई एउटा नमुना सङ्गठनको रूपमा स्थापित गर्ने लक्ष्य रहेको समेत स्पष्ट पारे। भेलाले आगामी कार्य योजना तय गर्दै सङ्गठन विस्तार र सुदृढीकरणका लागि एकताबद्ध भएर लाग्ने अठोटका साथ कार्यक्रम समापन गरेको थियो।

















