विराटनगर । आगामी फागुन २१ गते हुने निर्वाचनको दिन नजिकिँदै उम्मेदवारहरू मतदातासँग नजिकिँदै गएका छन् । घरदैलोमा पुगेका नेकपा एमालेबाट मोरङ क्षेत्र नम्बर ४ का उम्मेदवार जीवन घिमिरेलाई मतदाताले घेर्छन् र यस अघि गरेका राम्रा कामको जस दिन्छन्। काम गर्ने नेता चाहिएको भन्दै उनलाई बधाई दिन्छन् । कोशी प्रदेश सरकारमा भएको बेला नागरिकको सेवामा काम गरेको छवि बनाएका घिमिरे घरदैलोमा निस्किएसँगै मतदाता आफैँ उनलाई खोज्न थालेका छन्। मत दिएर निर्वाचित गराउने बचन दिएका मतदाताले यस अघि गरेको जस्तै सबैको मन जित्ने गरी काम गरिदिन आग्रह गरे ।
नेकपा (एमाले) का प्रभावशाली नेता समेत रहेका घिमिरेले आफ्नो चुनावी एजेन्डालाई प्रस्ट रूपमा सार्वजनिक गरेको भन्दै त्यसको लागि नागरिकको तर्फबाट सहयोगको प्रतिबद्धता आएको हो। शुक्रवार घिमिरेले आफ्नो निर्वाचन क्षेत्रलाई समेटेर प्रतिबद्धता सार्वजनिक गरेका थिए। लगत्तै शनिवार कटहरीमा घरदैलो कार्यक्रममा पुगेका घिमिरेलाई त्यहाँका मतदाताले आफ्नो क्षेत्रको विकासको काममा सहयोग गरिदिन भने ‘तपाईँ राम्रो काम गर्ने व्यक्ति हो, हामी तपाईँलाई सहयोग गर्न तयार छौँ, कटहरीका फरकलाल राजवंशीले भने, तपाईँ प्रति हाम्रो विश्वास रहेको छ, हिजो गरेका कामलाई हामीले भुलेका छैनौँ।’ चुनाव भएकोले धेरै हल्लाहरू हुने गरेको भए पनि समाजमा भएका राम्रो कामले सबैले सहयोग गर्ने उनले बताएका थिए ।
जवाफमा घिमिरेले नागरिकको इच्छा र चाहना अनुसारको काम गर्ने बचन दिए । मर्दा र पर्दा सधैँ सँगै रहेको स्मरण गराउँदै घिमिरेले आफूले नागरिकको हरेक अप्ठेरामा सहयोग पुग्ने गरी काम गर्ने जनाए। घिमिरे भन्छन्, ‘हामीले राजनीतिक अधिकार त पायौँ, तर आर्थिक र सामाजिक अधिकार अझै स्थापित हुन सकेको छैन । जबसम्म एक सुकुम्वासीले शिक्षा पाउँदैन वा गरिबले उपचार नपाएर मर्नुपर्ने स्थिति रहन्छ, तबसम्म संविधानको मर्म पूरा हुँदैन। संविधानको मर्म अनुसारको काम गर्नको लागि म प्रतिबद्ध छु।’
श्रमिकहरूको हकहित सुनिश्चित गर्ने र वैदेशिक रोजगारीको बाध्यतालाई स्वदेशमै रोजगारीले स्थापना गर्ने काममा आफ्नो पहिला देखिकै योजना रहेकोले त्यसको लागि काम गर्ने समेत उनले मतदातालाई जानकारी गराएका थिए।
मोरङ ४ का मतदाताहरूसँग कुरा गर्दै घिमिरेले भने ‘विगतमा प्रदेश सरकारको मन्त्री हुँदा होस् या सामाजिक काममा, मैले सधैँ न्यायपूर्ण समाजको वकालत गरेको छु । अब संसदमा पुगेर ती भावनालाई कानुनी रूप दिने मेरो लक्ष्य हो।’

















