सुनसरी  ।  प्लानिङ ब्वाइज युनाइटेड काठमाडौं २६ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखराको लालीगुराँस एसोसिएसनमाथि २-१ गोलले जित्दै प्लानिङ ब्वाइज उपाधिनजिक पुगेको हो । 

बुधबार धरान रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेडका लागि विलियम एलेक्स र प्रतापसिंह राईले गोल गरे । लालीगुराँसका लागि सिकन्दर सिद्दीकीले एक गोल गरे । खेलको छैटौं मिनेटमै सिद्दीकीले गोल गर्दै पोखरेली टिमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० गोलको अग्रता लिएको लालीगुराँसले दोस्रो हाफमा दुई गोल खान पुगेको थियो । खेलको ६०औं मिनेटमा प्लानिङ ब्वाइजले पेनाल्टी हान्ने अवसर पायो । उक्त पेनाल्टीलाई विलियम एलेक्सले सहजै गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए ।

लालीगुराँसका अकोओटे जुनियरले एलेक्सलाई पेनाल्टी क्षेत्रभित्र फल गरेपछि मुख्य रेफ्री मनिष अधिकारीले प्लानिङ ब्वाइज युनाइटेडलाई पेनाल्टी हान्ने अवसर दिएका थिए । खेल सकिन तीन मिनेट बाँकी रहँदा ८७ औं मिनेटमा प्रतापसिंह राईले निर्णायक गोल गरेका थिए ।  ‘म्यान अफ द म्याच’ भएका  उनले १० हजार रुपैयाँ पाए । 

यद्यपि पहिलो हाफ भने तनावपूर्ण रह्यो । २५औं मिनेटमा लालीगुराँसका सिकन्दर सिद्दीकी, प्लानिङ ब्वाइज युनाइटेडका पापाई केवेबीच हात हालाहाल भएपछि रेफ्रीले रेडकार्ड दिएर मैदानबाहिर पठाएका थिए । रेफ्रीको उक्त निर्णयविरुद्ध आपत्ति जनाउँदै पोखराका टिम म्यानेजर ईश्वर बस्याल विरोधमा उत्रिएपछि उनले पनि रातो कार्ड पाउँदै मैदान छाड्नुपरेको थियो । सो क्रममा खेल ८ मिनेट अवरुद्ध हुनुपुगेको थियो । 

बिहीबार हुने अन्तिम सेमिफाइनलमा झापा–११ र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ट्रफी, मेडलसहित नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ ।