सुनसरी । झापा ११ फुटबल क्लब २६ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।
मंगलबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा सातदोबाटो युथ क्लब ललितपुरलाई २–१ गोल अन्तरले पराजित गर्दै झापाली टिमले अन्तिम चारको यात्रा तय गरेको हो ।
धरान रंगशालामा भएको खेलमा झापाको जितमा राजेश दाहाल र एरोन थापा नायक बने ।
राजेशले खेलको १७ औं मिनेटमा गोल गरेर झापाली टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको झापाली टिममाथि सातदोबाटोले थप दबाब बढायो ।
दोस्रो हाफको १३ औं मिनेटमा विदेशी खेलाडी बबिरोजले गोल फर्काएपछि खेल बराबरीमा आयो ।
प्रतिस्पर्धात्मक खेल सकिन एक मिनेट बाँकी हुँदा एरोन थापाले गोल गरेपछि झापाली टिमको जित सुनिश्चित भएको हो ।
बबिरोजलाई खेलको तीन मिनेटको इञ्जुरी समयमा रेफ्री कबिन ब्यञ्जनकारले दोहोरो पहेँलो कार्डको देखाउँदै गराउँदै मैदान बाहिर पठाए ।
खेलको म्यान अफ द म्याच घोषित हुँदै एरोन थापाले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।
मंगलबारको अन्तिम क्वाटरफाइनलसँगै सेमिफाइनल समिकरण समेत पूरा भएको छ ।
झापा ११ ले अब चर्च ब्वाइज युनाइटेडसँग आगामी बिहीबार दोस्रो तथा अन्तिम सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
चर्च ब्वाइजले बिभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गर्दै यसअघि नै अन्तिम चारमा पुगिसकेको छ ।
त्यसअघि बुधबारको पहिलो सेमिफाइनलमा लालीगुराँस एसोसियसन पोखरा र प्लानिङ ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।
प्लनिङ ब्वाइजले साबिक बिजेता न्युरोड टिम एनआरटीलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गर्दा लालीगुराँसले आयोजक धरान फुटबल क्लबलाई पन्छाउँदै अन्तिम चारमा स्थान बनाएको हो ।
फाइनल खेल फागुन २ गते हुनेछ ।
प्रतियोगिताको विजेता टोलीले नगद १० लाख र उपविजेता टोलीले ५ लाख रुपैयाा पुरस्कार पाउनेछ ।

















