सुनसरी । विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड २६ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कपको सेमिफाइनल प्रवेश गरेको छ ।
धरान रङ्गशालामा आइतबार भएको दोस्रो क्वाटर फाइनल खेलमा चर्च ब्याइजले पुलिसमाथि १–० को जीत निकाल्यो ।
चर्च ब्याइजलाई अन्तिम चारको यात्रा तय गराउन रिचार्ज विल्सनले निर्णायक गोल गरे ।
विल्सनले खेल सुरु भएको ३० सेकेन्डमै गोल गरेका थिए । खेल सुरु भएको दोस्रो मिनेटमा पुलिसका सञ्जीव लामा र दिपेष गुरुङबिच हात हालाहाल भएपछि दुवै जनालाई रेफ्री कबिन ब्याञ्जनकारले रेड कार्ड दिएर मैदान बाहिर पठाएका थिए ।
बाँकी समय दुवै टिम १०–१० खेलाडीमा सीमित भएका थिए । झापा गोल्ड कपको उद्घाटन खेलमा आयोजक झापा ११ सँग २–१ गाल अन्तरले पराजित भएको २४ घण्टा नबित्दै बुढासुब्बा खेल्न धरान पुगेको पुलिसका अधिकांश खेलाडी थकित देखिन्थे ।
एन्फाले गोल्डकप जुधाएर बनाएको भद्रगोल क्यालेन्डरको कारण चर्च ब्याइजले आइतबार एकै दिन बुढासुब्बा र झापा गोल्डकप खेल्नु परेको थियो । खेलको म्यान अफद म्याच निर्णायक गोल गरेका रिचार्ज घोषित हुँदै नगद १० हजार पाए । 
आइतबारको विजेता चर्च ब्याइजले अब झापा ११ र सात दोबाटो यूथ क्लबबिच मङ्गलवार हुने अन्तिम क्वाटर फाइनल खेल विजेतासँग आगामी बिहीबार सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
झापा ११ ले रोयल थिम्पु फुटबल क्लब भुटानलाई पराजित गर्दै क्वाटर फाइनल प्रवेश गर्दा सातदोबाटोले सिधै वाई पाएर अन्तिम आठको यात्रा तय गरेको थियो । त्यसअघि सोमबार हुने तेस्रो क्वाटर फाइनलमा आयोजक धरान फुटबल क्लबले पोखराको लालिगुरास एफसीको सामना गर्नेछ ।
प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।
फाइनल विजेता टोलीले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।