विराटनगर । आफन्त नेपालले गर्दैन आएको कार्यकाे वार्षिक प्रगति समीक्षा गरेको छ। परियोजना सल्लाहकार समितिको बैठकमा संस्थाले सन् २०२५ मा मानव बेचबिखन तथा ओसारपसारको जोखिममा परेका, पीडित र प्रभावितहरूका लागि गरेका विभिन्न सकारात्मक प्रयासहरूको विस्तृत प्रतिवेदन प्रस्तुत गरिएको थियो।
कार्यक्रममा संस्थाकी माेरङ जिल्ला संयोजक अमृता घिमिरेले सन् २०२५ को कार्य प्रगति विवरण प्रस्तुत गर्दै संस्थाले एक वर्षको अवधिमा २ हजार ८ सय ४४ जनालाई परामर्श प्रदान गरेको र १२८ जनाको सफल उद्धार गरेको जानकारी दिइन् । उद्धार गरिएकामध्ये ११७ जनालाई सुरक्षित रूपमा पारिवारिक पुनर्मिलन गराइएको छ । ५ जनालाई आवश्यक कानुनी तथा आर्थिक सहायता उपलब्ध गराइएको छ। यसैगरी, सुरक्षित आवासगृह प्रेषण, पारिवारिक पुनर्मिलन र पुनस्र्थापना पश्चात् १६२ जनाको नियमित फलोअप (Phone Follow-up) गरिएको जनकारी दिइएको थियो । एक बर्षकाे अबधिमा उद्दार भएकाहरू २२ जिल्लाका रहेको घिमिरेले बताइन् ।
आफन्त नेपालले पीडित र प्रभावित छोरीहरूलाई समाजमा अगुवाको रूपमा स्थापित गर्न सीपमूलक तालिममा विशेष जोड दिँदै आएको छ। सोही क्रममा चितवनमा टेलरिङ्ग र बारबर (कपाल काट्ने) सम्बन्धी व्यावसायिक सीप सिकाउने कार्य भइरहेको जानकारी गराइएको थियो। आफन्त नेपालले ९० जनालाई आश्रय दिएकाे तथा सिपका लागि १० जनालाई चितवन पठाइएकोमा उदयपुरको ४, ओरेकले पठाएको ३, आफन्त नेपालले सिमाबाट २ जना र महिला पुनस्थापना केन्द्रकाे १ जनालाई सीप सिकाउन पुनस्र्थापना गृहमा पठाइएको जानकारी दिइएको थियाे ।
कार्यक्रमका प्रमुख अतिथि एवं विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले मानव बेचबिखन जस्तो गम्भीर सामाजिक अपराध न्यूनीकरणमा आफन्त नेपालले खेलेको भूमिकाको प्रशंसा गरे। त्यस्तै काेइरालाले प्रभावितहरूको आत्मनिर्भरता र सामाजिक पुनस्र्थापनाका लागि महानगरले संस्थासँग आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। जिल्ला प्रहरी कार्यालय माेरङका डिएसपी काेपिला चुँडालले उद्दार र कानुनी प्रकृयामा निरन्तर समन्वय भइरहेको बताइन् ।
















