विराटनगर । विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन र उनीहरूको बोल्ने तथा तर्क गर्ने क्षमता विकास गर्ने उद्देश्यले हरेक वर्ष आयोजना गरिँदै आएको मोरङ जिल्ला स्तरीय वादविवाद प्रतियोगिताको यस वर्षको तयारी तीव्र पारिएको छ। चुँडाकबी फाउन्डेसनले आगामी माघ १६ गतेका लागि तय गरेको यस प्रतियोगितालाई भव्य बनाउन विभिन्न समितिहरूले सक्रियताका साथ काम गरिरहेको फाउन्डेसनका महासचिव रिता न्यौपानेले जानकारी दिएकी छन्।
आयोजकले विशेषगरी सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई बढी सहभागी गराउने लक्ष्य राखे तापनि कतिपय पालिकाहरूले समन्वय गरेपनि विद्यालयले नै असहयोग र अनिक्षा देखाउने गरेका छन्। पालिकाहरूलाई पत्र पठाएर नै सामुदायिक विद्यालयका विद्यार्थीलाई सहभागी हुन भनिएपनि बोल्ने खालका विद्यार्थी नै नभएको भन्दै विद्यालयहरुले आफ्ना विद्यार्थीहरुलाई प्रतिस्पर्धी हुनबाट रोकेका छन् ।
निजी विद्यालयहरूले प्रतियोगिताका लागि आफ्ना विद्यार्थीहरूको नाम स्वतस्फुर्त रूपमा पठाइसक्दा समेत केही पालिकाहरूले अझैसम्म नाम नपठाएको र सरकारी विद्यालयले चासो नदेखाएको महासचिव न्यौपानेको भनाइ छ। प्रतियोगिताको प्रचारप्रसार र समन्वयका लागि आयोजक टोली रतुवामाई, सुनवर्षी, रंगेली, सुन्दरहरैँचा, केरावारी, लेटाङ, पथरी, कानेपोखरी र उर्लाबारी लगायतका पालिकाहरूमा आफैँ पुगेको थियो । अन्य पालिकाका ४० भन्दा बढी विद्यालयहरूले सहभागी हुने सुनिश्चितता गरिसकेका छन्। आयोजकले माघ १४ गतेसम्म नाम दर्ता गर्ने समय तोकेको छ भने सोही दिन पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको विस्तृत तयारी सार्वजनिक गर्ने योजना बनाएको छ।
यस वर्षको प्रतियोगितामा पुरस्कारको राशी पनि आकर्षक राखिएको छ। फाउन्डेसनका अनुसार, पक्ष र विपक्षबाट प्रथम हुनेले ५१-५१ हजार, द्वितीय हुनेले ३१-३१ हजार र तृतीय हुनेले २१-२१ हजार रुपैयाँ नगद सहित सिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन्।

















