विराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा मतदान सुरू भएको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरमा ९ बजेदेखि मतदान शुरु भएको हो ।


मतदान दिउँसो ३ बजेसम्म हुने छ । कोशी प्रदेशमा २ सदस्य पदका लागि निर्वाचन हुँदैछ । खुलातर्फ कांग्रेस–एमाले गठबन्धनबाट कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् । दलित र महिला सदस्य पदका ४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।


गठबन्धनबाट महिला र दलित दुवै पदमा एमाले उम्मेदवार छन् । महिलामा रोशनी मेचे र दलितमा सोम पोर्तेल छन् । नेकपाबाट महिलामा नमिता न्यौपाने र दलितमा खेम सुन्दासले उम्मेदवारी दिएका छन् ।


कोशी प्रदेशका १ सय ३७ स्थानीय तहमध्ये नेपाली कांग्रेसका १ सय १३, एमालेका १ सय ८, नेपाली कम्युनिष्ट पार्टीका ३६, जसपा नेपाल र राप्रपाका ४ –४ र स्वतन्त्र २ जना छन् । प्रदेशसभामा नेपाली कांग्रेसका २९, एमालेका ४०, नेकपाका १७, राप्रपाका ५ र जसपा नेपालका १ सांसद छन् ।


स्थानीय तहका प्रमुख उपप्रमुख ६ जना र प्रदेशका एक जना प्रतिनिधि सभामा उम्मेदवारी दिएकाले र झापा गाउँपालिका अध्यक्ष भ्रष्टाचार मुद्दामा निलम्बनमा परेकाले मतदानमा सहभागी हुने छैनन् ।