सुनसरी । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले भदौ २३ र २४ गते भएका कमीकमजोरीलाई स्वीकार गर्दै पार्टीको घोषणा पत्र मार्फत सम्बोधन गर्ने बताएका छन् ।
सुनसरीमा पत्रकारसँगको भेटघाट कार्यक्रममा बोल्दै उपमहासचिव भट्टराईले भदौ २३ गते जेनजी आन्दोलनको क्रममा राज्यको तर्फबाट भएका कमीकमजोरीलाई स्वीकार गर्दै त्यसका जायज मागहरूलाई सम्बोधन गर्नुपर्ने बताएका हुन ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गतेको घटनालाई स्वीकार नगरी भदौ २४ गतेको घटनालाई मात्र टार्गेट गर्दै आएको अवस्था उपमहासचिव भट्टराईले यस्तो बताएका हुन ।
भदौ २३ गतेको आन्दोलनले उठाएका मागहरू जायज रहेको ठहर गर्दै ती मागहरूलाई सम्बोधन गर्ने विषयमा पार्टीमा एक चरण छलफल पनि भएको भट्टराईले बताए ।
उनले भने, पार्टीको छलफलमा राज्यको कमजोरी, नेतृत्वको कमजोरी र आन्दोलनका मुख्य मागहरू भ्रष्टाचारको अन्त्य, सुशासनको स्थापना र नेपाली समाजको रूपान्तरणसँग सम्बन्धित रहेका थिए, जसलाई बेवास्ता गर्न नहुने स्पष्ट गरिएको छ।
उनले राजनीतिक दलहरूले समेत आफ्ना–आफ्ना निर्वाचन घोषणा पत्रमा ती मागहरूप्रति स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने आवश्यकता रहेको औँल्याए।
नेकपा एमालेले आगामी निर्वाचनका लागि तयार गर्ने घोषणा पत्रमा भ्रष्टाचारविरुद्ध कडा नीति अवलम्बन गर्ने र सुशासनलाई प्रभावकारी ढङ्गले अघि बढाउने प्रतिबद्धता समेटिने उनले जानकारी दिए ।

















