सुनसरी । माघ २२ गते देखी सुरु हुने २६ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक धरान फुटबल क्लबले माघ २२ गतेदेखि फागुन २ गतेसम्म धरान रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको खेल तालिका बुधवार सार्वजनिक गरेको हो ।
स्वदेशी तथा विदेशी गरी १० टिमको सहभागी हुने प्रतियोगिताको उद्घाटन खेलमा माघ २२ गते बिहीबार धरान फुटबल क्लबले भारतको जर्जियन फुटबल क्लबको सामना गर्नेछ ।
त्यस्तै, माघ २३ गते भुटानको रोयल थिम्पु फुटबल क्लब र झापा–११ झापाबिच दोस्रो प्रि–क्वार्टर फाइनल खेल हुनेछ । क्वार्टर फाइनल चरणका खेलहरूमा माघ २४ गते प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँ र साबिक विजेता न्यू रोड टिम काठमाडौँ, माघ २५ गते नेपाल पुलिस क्लब काठमाडौँ र चर्च ब्वाइज युनाइटेड काठमाडौँ तथा माघ २७ गते झापा–११ र सात दोबाटो यूथ क्लब ललितपुरबिच प्रतिस्पर्धा हुनेछ ।
यस्तै, माघ २६ गते उद्घाटन खेलको विजेताले लालिगुरास फुटबल क्लब पोखरासँग प्रतिस्पर्धा गर्नेछ ।
सेमिफाइनल खेलहरू माघ २८ र २९ गते आयोजना हुनेछन् भने प्रतियोगिताको फाइनल खेल फागुन २ गते शनिवार सम्पन्न हुनेछ ।
धरानमा लामो समयदेखि सञ्चालन हुँदै आएको बुढासुब्बा गोल्डकपलाई नेपाली फुटबलको प्रतिष्ठित प्रतियोगिताका रूपमा लिइन्छ ।
यस वर्ष विदेशी टिमको सहभागितासँगै १० वटा टिम सहभागी भएकाले प्रतियोगिता थप प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने आयोजकको विश्वास रहेको छ ।

















