सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टीका सुनसरी क्षेत्र नम्बर २का उम्मेद्वार लालविक्रम थापा विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । सत्यनारायण पण्डितले थापा विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन ।
रास्वपाका उम्मेद्वार थापाले इटहरी स्थित जनता माध्यमिक विद्यालयको जग्गा भाडामा लिए वापत तिर्नुुपर्ने रकम फच्र्यौट नगरेको भन्दै उनी विरुद्ध उजुरी परेको हो ।
निवेदक पण्डितले निर्वाचन आचारसंहिता २०८२ को परिच्छेद १० (विविध) ४२ नम्बर बुँदा अन्र्तगत बेरुजु फच्र्यौट गर्नुपर्नेमा सो फच्र्यौट नगरेको भन्दै उनको उम्मेद्वारी खारेजीको माग गरेका छन् । निवेदकका अनुसार थापाको कम्पनीले जनता माध्यमिक विद्यालयलाई ७४,००१५०।( चौहत्तर लाख एक सय पचास) तिर्नुपर्ने दावी गरेका छन् ।
थापा सञ्चालक रहेको सनमुन प्लाजा कम्पनी र जनता मावि बिचमा २०७६ साउन १ देखि लागु हुनेगरि करिब २ कट्ठा जग्गा भाडामा लगाउने सहमति भएको थियो । सम्झौता अनुसार मासिक १ लाख ७ हजार ५ सय एक रुपैयाँ बुझाउनुपर्ने उल्लेख छ ।
सोही विषयमा उनी विरुद्ध अख्तियारमा पनि मुद्धा विचाराधिन रहेको छ ।
भाडाको विषयमा विवाद भएपछि लालविक्रमले सनमुन प्लाजा कम्पनीबाट आफ्नो नाम हटाएर आफन्तको नाम राखेका थिए । तर आन्तरिक राजश्व कार्यालयमा भने उनकै नाम रहेको निवेदकले दावी गरेका छन् ।
यता, उम्मेद्वार थापा विरुद्ध उजुरी परेको सुनसरी क्षेत्र नम्बर २ का सहायक निर्वाचन अधिकृत अरुण मेहताले पुष्टि गरेका छन् । उनले भने, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार लालविक्रम थापा विरुद्ध उजुरी परेको छ । सो बारेमा भोली सुनुवाई हुनेछ ।
















