सुनसरी नेपाली काँग्रेसको तर्फबाट सुनसरी क्षेत्र नम्बर ३ मा पूर्व मन्त्री विजय कुमार गच्छदारले उम्मेदवारी दर्ता गरेका छन् ।
पार्टी सभापति गगन थापाले हस्ताक्षर गरेको टिकट बोकेर विजय र उनका भाइ पर्ने वेद गच्छदार निर्वाचन अधिकृतको कार्यालय पुगेपछि दिनभर अन्योल भएको थियो ।
दिनभरको छलफलपछि दुहबी नगरपालिकाका प्रमुख समेत रहेका वेद गच्छदार पछि हटेपछि अन्तिम समयमा विजयले उम्मेदवारी दर्ता गराएका हुन ।
२०२७ सालमा महेन्द्र मोरङ क्याम्पसबाट नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेका र १८ पटक मन्त्री भइसकेका गच्छदार सुनसरीबाट यो सहित आठौँ पटक चुनावी मैदानमा होमिएका छन् ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार भगवती चौधरीसँग पाँच हजारभन्दा बढी मतान्तरले पराजित भएका थिए । काँग्रेसको तर्फबाट सुनसरी १ मा सुरेन्द्र तामाङ, क्षेत्र नम्बर २ मा राजीव कोइराला र सुनसरी ४ मा ज्ञानेन्द्र बहादुर कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।

















