इटहरी – इटहरीमा नयाँ व्यवस्थापनसहित सञ्चालनमा आएको किण्डर पिलर एकेडेमीले आयोजना गरेको ‘हिउँदे उत्सव’ Winter Carnival कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता देखिएको छ।
कार्यक्रममा स्थानीय समुदायका व्यक्तिहरूको समेत सक्रिय उपस्थिति रहेको थियो।
विद्यालयमा अध्ययनरत बालबालिका र उनीहरूका अभिभावकको प्रत्यक्ष सहभागितामा सञ्चालन गरिएका विभिन्न स्टलहरू कार्यक्रमका मुख्य आकर्षण बनेका थिए।
फुड स्टल, बुक स्टल, गेम स्टल, फेस पेन्टिङ स्टल तथा क्रिएटिभ कर्नरले सहभागीहरूको ध्यान खिचेको थियो।

क्रिएटिभ कर्नरमा बालबालिकाहरूले चित्रकला, हस्तकला तथा विविध रंगीन गतिविधिमार्फत आफ्ना सिर्जनात्मक क्षमताको प्रदर्शन गर्दा अभिभावकहरू उत्साहित देखिएका थिए। गेम स्टलमा बालबालिकाको उत्साह झल्किन्थ्यो भने फुड स्टलमा अभिभावकहरूले तयार पारेका परिकारहरूले कार्यक्रमलाई थप रोचक बनाएको थियो।
त्यसैगरी बुक स्टलले बालबालिकामा पठन संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

विद्यालयद्वारा आयोजना गरिएका यस्ता कार्यक्रमहरूले बालबालिकाको आत्मविश्वास, सामाजिक सीप, नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै अभिभावक–विद्यालय सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।
विगत १० वर्षदेखि गुणस्तरीय तथा सीपमूलक शिक्षामा निरन्तर क्रियाशील रहँदै आएको किण्डर पिलर एकेडेमीले प्रारम्भिक बालशिक्षालाई खेल, सिर्जनात्मकता र व्यवहारिक सिकाइसँग जोड्दै बालबालिकाको समग्र व्यक्तित्व विकासमा जोड दिँदै आएको जनाएको छ।















