विराटनगर। संखुवासभाको भोटखोलाबाट एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। भोटखोला गाउँपालिका–१ स्थित मकालु–बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अनुमति बिना प्रवेश गरेको आरोपमा चिनियाँ नागरिक ची गुओडोङ पक्राउ परेका हुन्।

अध्यागमन विभागको अनुमति तथा आवश्यक कागजातबिनै निषेधित क्षेत्रमा प्रवेश गरेको अवस्थामा इलाका प्रहरी कार्यालय किमाथाङ्काबाट खटिएको गस्ती टोलीले आइतबार उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

प्रहरीले उनलाई तत्काल निषेधित क्षेत्रबाहिर पठाउनुका साथै उनको राहदानी जफत गरेको छ। घटनासम्बन्धी आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि उनलाई अध्यागमन विभागमा पठाउने प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए। 

प्रहरी निरीक्षक राजवंशीका अनुसार, निषेधित क्षेत्रमा विदेशी नागरिक प्रवेश गर्न सम्बन्धित निकायको पूर्वस्वीकृति अनिवार्य हुन्छ। सो प्रक्रिया नअपनाई प्रवेश गरेकाले उनलाई नियन्त्रणमा लिई प्रचलित कानुनअनुसार कारबाही गरिने उनले बताए।