सुनसरी । फागुन २१ को चुनाव नजिकिँदै जाँदा भारतसँग ६२ किलोमिटर सीमा जोडिएको सुनसरीमा फरार कैदी बन्दी प्रहरीका लागि टाउको दुखाइको विषय बनेको छ ।
फागुन २१ गतेको हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरीमा चुनावी गतिविधि बढेसँगै प्रहरीले पनि आफ्नो सक्रियता बढाएको दाबी गरेको छ । प्रतिनिधिसभाको लागि ४ वटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा प्रमुख दलहरूले उमेद्धवारी सिफारिस गरेर पार्टीको माथिल्लो तहमा पठाइसकेका छन् । निर्वाचन आयोगले चार वटै क्षेत्रमा निर्वाचन अधिकृत तोकेसँगै सुरक्षा निकायले पनि आफ्नो तयारी गरिसकेको सुनसरी प्रहरी प्रमुख एसपी केशवकुमार थेबेले जानकारी दिए ।
फरार कैदी बन्दी नियन्त्रणमा लिन टाक्सफोर्स गठन गरेर विशेष अभियानै सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते राती सुनसरीमा रहेको देशकै तेस्रो ठुलो झुम्का कारागारबाट १ हजार ५ सय ७५ कैदी फरार भएका थिए ।
ती मध्ये केही कैदी आफै तथा केहीलाई सुरक्षा निकायले पक्राउ गरी कारागार फर्काए पनि ४ सय ७७ कैदी अझै फरार छन् ।
फरार कैदीहरू मध्ये अधिकांश जघन्य मुद्दामा पुर्पक्षको लागि थुनामा परेका कैदी रहेको जेलर सुवास लामिछानेले जानकारी दिए ।
जेलर लामिछानेले भने– अहिले कारागारमा १ हजार ४ सय ४ जना कैदी रहेका छन्, जेनजी आन्दोलनपछि फरार भएका १ हजार २ सय ७६ जना कारागार फर्काए पनि ४ सय ७७ फरार छन् ।
चुनाव नजिकिएसँगै उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीका लागि चुनौतीको विषय बनेको हो ।
१ हजार ६ सय क्षमताको कारागारमा जेनजी आन्दोलनअघि १ हजार ७ सय ९९ कैदी बन्दी रहेका थिए ।
फरार कैदी पक्राउ गर्न सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सशस्त्र र नेपाल प्रहरीको डिएसपीहरूको टाक्सफोर्स बनाएर अभियान सञ्चालन भए पनि प्रभावकारी काम हुन सकेको छैन ।
फरार कैदी अधिकांश भारतीय क्षेत्रमा आश्रय लिएर बसेको सुरक्षा श्रोतको दाबी छ ।
सीमावर्ती क्षेत्रबाट हुने अवैध गतिविधि तथा हात हतियार नियन्त्रणका लागि भारतीय समकक्षीहरूसँग समन्वय भइरहेको सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
गत साता विराटनगरमा सम्पन्न प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन आएका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुनसरीको भन्टावारि नाकाको स्थलगत अनुगमन गर्दै भारतीय सीमा सुरक्षा बलका अधिकारीहरूलाई निर्वाचन नजिकिएकाले सहयोग गर्न आग्रह गरेका थिए ।
गत सोमबार पनि सशस्त्र प्रहरी बल नम्बर ४ गण सुनसरीले भारतीय सीमा सुरक्षा बलका अधिकारीहरुसंग बैठक बसी निर्वाचन लक्षित सुरक्षाको बारेमा छलफल गरेका छन् ।
बैठकमा आशन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर सीमा क्षेत्रबाट हुने अवैध गतिविधि नियन्त्रण गर्न समन्वयात्मक ढङ्गले काम गर्ने सहमति भएको सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणि पौडेलले जानकारी दिए ।

















